काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट लगानीमैत्री आएको प्रतिक्रिया दिएका छन् ।
महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो । सोही अनुरूप आयोग बन्ने र बजेटले सुधार वर्ष घोषणा गरेकाले बजेट स्वागतयोग्य रहेको उनले बताए ।
“महासंघले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ, कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको छ, पर्यटन प्रवर्द्धन, वैवाहिक पर्यटन विकास गर्ने विषय आएका छन् र सूचना प्रविधि र नवप्रवर्द्धन बचत गाउँमा केही सहुलियत र विस्तारका योजना छन्”, उनले भने, “ महासंघको माग अनुसार नै निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ ।”
बाँकी राजस्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने उनको भनाइ छ ।