काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माओवादी पार्टीलाई एमालेमा विलय गराउनुबाहेक अब सबै विकल्प सकिएको दाबी गरेका छन् ।
टेलिभिजन पत्रकार सुनिल दाहालसँगको अन्तर्वार्तामा अध्यक्ष यादवले केपी ओलीको नेतृत्व स्वीकार गरेर एमालेमा विलय हुनुबाहेक अरु विकल्प अब ‘प्रचण्ड’सँग नरहेको बताए ।
यादवले भने, ‘मेरो सल्लाह मान्ने हो भने माओवादीलाई एमालेमा विलय गराएर हिजो फुटाउनु गल्ती थियो भन्दै अहिले विलय गरेर केपी ओलीको नेतृत्वमा अघि बढे हुन्छ, उहाँको लागि त्यो हितकार छ । एमालेमा विलयमा गराएर ओलीको नेतृत्वमा अघि बढे उहाँहरूको कल्याण हुन्छ । त्यो बाहेक अरु बाटो त के छ र ?’
‘प्रचण्ड’ नेतृत्वको पार्टी पटक-पटक विभाजन भएर समाप्तिको बाटोमा रहेको भन्दै यादवले अब उनीबाट धोका खान बाँकी कोही नरहेको बताए । उनले आफूहरूसँगको सहकार्यबाट ‘प्रचण्ड’ यहाँसम्म आइपुगेको भन्दै अब एमालेमा विलय भएमात्र अस्तित्व जोगिने दाबी गरे ।