संसदीय छानबिन समितिको कार्यादेशमा छलफल गर्न शीर्ष नेताको बैठक बस्दै  « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

संसदीय छानबिन समितिको कार्यादेशमा छलफल गर्न शीर्ष नेताको बैठक बस्दै 


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउने प्रयासमा शीर्ष नेताहरूको बैठक आज बस्दै छ । बैठक आज बिहान नौ बजे बस्ने तय भएको छ ।

शीर्ष नेताहरूको बैठकले नै संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन नेकपा एमालेका नेता एवम् कानुन मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलमा गिरीसहित नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल छन् ।

कार्यदलस्तरमा कार्यादेशमा सहमति नजुटेपछि शीर्ष तहमा छलफल हुन लागेको हो । कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री र रवि लामिछानेको नामै उल्लेख गर्ने कि नगर्ने भन्नेमा सत्तारुढ र प्रतिपक्ष दलबीच सहमति जुटेको छैन । यद्यपि कार्यादेशमा दुवै पक्ष सहमति नजिक पुगेको नेताहरुले दाबी गरेका छन् ।

शनिबार पनि कार्यदल स्तरमा छलफल पछि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए ।

बैठकमा काँग्रेसले सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्ने अडान यथावत राखेको काँग्रेस सहमहामन्त्री जीवन परियारले बताए । उनका अनुसार आज पनि सहमतिको प्रयास जारी राख्न शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस