जाजरकोट । जाजरकोटस्थित कृषि विकास कार्यालयमा प्राविधिकतर्फ ११ जना कर्मचारीको दरबन्दी छ । दरबन्दी मध्ये दुई जना मात्र स्थायी कर्मचारी कार्यरत छन् ।
प्राविधिक तर्फ कार्यालय प्रमुख महेश आचार्य र प्राविधिक सहायक नवीन राज आचार्य कार्यरत छन् । प्राविधिक तर्फ बाँकी पद रिक्त छ । १६ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा अप्राविधिक तर्फ भने प्रशासन एक, लेखा एक, हलुका सवारी चालक एक र कार्यालय सहयोगी दुई जनाको दरबन्दी छ । अप्राविधिक तर्फको सबै पदमा कर्मचारी कार्यरत छन् ।
प्राविधिक तर्फ स्थायी कर्मचारी नहुँदा कार्यालयका फाँटको जिम्मेवारी पनि करारका कर्मचारीले समालेका छन् । करारका कर्मचारीले चलाइ रहेको कार्यालयमा ओभरसियरमा दुई जना, ब्लक विकास अधिकृत एक जना, अर्गानिक अधिकृत एक जना करारका रहेका छन् । उनीहरू दरबन्दी भन्दा बाहिरका कर्मचारी हुन् ।
किसानलाई सेवा दिने कार्यालयमा प्रदेश सरकारले दरबन्दी अनुसारका कर्मचारीको व्यवस्थापन नगर्दा प्रशासनिक काममा ढिलाइ हुने गरेको गुनासो छ । ‘कर्मचारी अभावमा प्राविधिक सेवा कटौती गर्नुपर्ने, नियमित अनुगमनमा जान नभ्याउने हुन्छ’, कार्यालय प्रमुख आचार्यले भने, ‘कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयलाई लेखी पठाएका छौँ ।’
कृषि कार्यालयमात्र होइन अन्य कार्यालयको स्थिति पनि उस्तै छ । प्रदेश सरकार मातहतका कृषि विकास कार्यालयसहित पूर्वाधार कार्यालय, सामाजिक विकास कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय करारका कर्मचारीले धानेका छन् । दरबन्दीका कर्मचारी नहुँदा सेवाग्राहीले पाउने सेवामा ढिलाइ हुने गरेको छ । प्रदेश सरकारले दर बन्दीका कर्मचारीको व्यवस्थापन नगरे पछि यस्तो समस्या आएको हो ।