अवैध बाटोबाट अमेरिका जान लागेका १५ नेपाली केन्या लगायतका देशमा बन्धक « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

अवैध बाटोबाट अमेरिका जान लागेका १५ नेपाली केन्या लगायतका देशमा बन्धक


२८ बैशाख २०८१, शुक्रबार


पक्राउ

काठमाडौँ । अवैध बाटो प्रयोग गरी अमेरिका तथा क्यानडा पुर्‍याउने सपना देखाई विभिन्न व्यक्तिहरूबाट ५ करोड ५० लाख रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ घर भई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका ११ कपन बस्ने टासी शेर्पा, सिन्धुपाल्चोकको साबिक कर्थली गाविस १ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी बस्ने ङिमबुटी शेर्पा र सिन्धुपाल्चोककै जुगल गाउँपालिका १ घर भई गोकर्णेश्वर जोरपाटी बस्ने निमा शेर्पालाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । वैदेशिक रोजगारीका लागि अमेरिका, क्यानडा लगायतका देशहरूमा पठाइदिन्छौँ भनी राहदानी, फोटो, प्रहरी रिपोर्ट, बैंक स्टेटमेन्ट, कोभिड क्युआर कोड समेतका कागजातहरू लिई अलपत्र पारेको उजुरी प्रहरीमा परेको थियो । 

दुबई हुँदै केन्यासम्म जाने हवाई टिकट दिई केन्यामा पुर्‍याई साथमा रहेको डलर समेत अन्य अफ्रिकी मूलका एजेन्टबाट लिन लगाई अलपत्र पारी खान बस्न समेत नदिएको उजुरीमा उल्लेख छ । उजुरीका आधारमा पक्राउ परेका उनीहरूलाई प्रहरी परिसर टेकु पठाइएको छ ।

ङिमबुटी शेर्पाले आफ्नो श्रीमान् दावा शेर्पा तथा टासी शेर्पाले आफ्नो छोरोलाई अवैध बाटो प्रयोग गरी अमेरिका पठाएको उदाहरण दिँदै गाउँका सोझा मानिसलाई मासिक ४ लाख माथि कमाई हुन्छ भनी प्रलोभन पारेको पाइएको छ । उनीहरूले भिसा निकाल्न तथा डकुमेन्ट अप्लाइ गर्न भनी सुरुमा ५ लाख रुपैयाँ लिने गरेको, २/३ दिनपछि भिसा आइसक्यो टिकट काट्न भनी ५ देखि ७ लाख, डलर साट्न ५ लाख रुपैयाँ (३५०० डलर) लाग्छ भन्दै प्रति व्यक्ति ५० लाख रुपैयाँ सम्म रकम उठाएको प्रहरी अनुसन्धानमा खुल्न आएको प्रवक्ता रेग्मीले बताए ।

काठमाडौँबाट दुबई ट्रान्जिट बनाई केन्याको राजधानी नैरोबी स्थित जोमो केन्यात्ता इन्टरनेश्नल एयरपोर्ट पुगेपछि उनीहरूले सम्पर्क गराएका अफ्रिकी मूलका एजेन्टले रिसिभ गरी ट्याक्सीमा राखी केन्याको जिम्मारमान स्थित भाडामा लिई राखेको घरको २ वटा फ्ल्याटमा लगी ६ महिना राखेको अनुसन्धानमा खुल्न आएको छ । उक्त घरमा पुग्ने बित्तिकै पीडितहरूबाट  २००/३०० डलर मात्र बाँकी राखी सबै डलर र पासपोर्ट एजेन्टहरूले नै लिएका थिए ।

नेपालीहरूलाई विभिन्न स्थानमा फ्ल्याटमा राख्ने गरेको अनुसन्धानमा खुल्न आएको छ । ६ महिनासम्म कोठामा बन्धक बनाई राखेपछि यहाँ बसिरह्यो भने प्रहरीले दुःख दिन्छ भनी त्यहाँबाट गाडीमा राखी अन्दाजी १ घण्टाको दुरीमा रहेको नैरोबी स्थित किनू भन्ने स्थानमा अर्को घरको फ्ल्याटमा लगी २/३ महिना राखेपछि प्रहरीले समात्छ भनी पासपोर्ट फिर्ता गरिदिएका थिए । 

पासपोर्ट पाएपछि नेपालीहरू आफ्नै पहलमा स्वदेश फर्किएका छन् । पीडितहरूले पासपोर्ट प्राप्त गरेपछि घर तथा साथीहरूबाट हवाई टिकट काटी नेपाल फर्किएका हुन् । अमेरिका पुर्‍याउन केन्याबाट क्यानडा, ब्राजिल, कोलम्बिया, मेक्सिको मध्ये कुनै रुट प्रयोग गरी पठाउने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गिरोहले करिब १५ जना नेपालीहरूलाई अमेरिका पठाउन केन्या लगायतका देशमा बन्धक बनाई राखिरहेको र  उनीहरूबाट करिब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको छ । कार्यालयको सम्पर्कमा आएका १० जना पीडितहरूबाट ५ करोड ५० लाख रकम लिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस