दर्खास्त नपरेपछि शिक्षकका लागि पाँचौँ पटक विज्ञापन « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

दर्खास्त नपरेपछि शिक्षकका लागि पाँचौँ पटक विज्ञापन


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । प्युठानको एउटा विद्यालयले शिक्षकका लागि पाँच पटक सूचना निकालेको छ । ग्रामीण र दुर्गम क्षेत्रमा शिक्षकको अभाव छ भन्ने यो पछिल्लो उदाहरण हो । 

गौमुखी गाउँपालिका वडा नं १ मा रहेको अर्खा माध्यमिक विद्यालयले माध्यमिक तह संघीय अनुदान कोटाको विज्ञान विषयको पदका लागि पाँचौँ पटक सूचना निकालेर दर्खास्त आह्वान गरेको हो । पटक पटकको विज्ञापनमा दर्खास्त नपरेपछि पाँचौँ पटक विज्ञापन गर्नु परेको विद्यालयका प्रधानाध्यापक लिलु प्रसाद पौडेलले जानकारी दिए । दर्खास्त नपरेपछि विद्यालयले पछिल्लो पटक अध्यापन अनुमति पत्र नभएकाहरूले पनि निवेदन दिन सक्ने गरी दर्खास्त आह्वान गर्न बाध्य भएको छ ।

पहिलो पटक गत फागुन २६ को निर्णय अनुसार १५ दिनको म्याद राखेर दर्खास्त आह्वान गरिएको थियो । त्यति बेला कुनै निवेदन परेन । दोस्रो पटक ७ सात दिनको म्याद राखेर निवेदन आह्वान गरेकोमा त्यति बेला पनि कुनै दर्खास्त नपरेको प्रधानाध्यापक पौडेलले बताए । उनका अनुसार तेस्रोमा पटक पनि दर्खास्त परेन ।

चौथो पटक दुई जनाको निवेदन परेकोमा दुवै उम्मेदवार नआएपछि विद्यालयले पाँचौँ पटक दर्खास्त आह्वान गरेको हो । आवेदन नै नपरेपछि अध्यापन अनुमति पत्र नभएको योग्य व्यक्तिले समेत दर्खास्त दिन सक्ने, तर अध्यापन अनुमति पत्र भएको व्यक्तिलाई प्राथमिकता दिने गरी पाँचौँ पटक सूचना निकालेको प्रधानाध्यापक पौडेलले बताए । 

अध्ययन अनुमति पत्र नभएका व्यक्तिको फोन आएकाले विद्यालयले अध्ययन अनुमति पत्र नभएकाले पनि निवेदन दिन सक्ने गरी दर्खास्त आह्वान गरेको हो । बिहीबारसम्म जम्मा दुई जनाको निवेदन परेको छ ।

उक्त पदका लागि करिब ४३ हजार पाँच सय तलब स्केल छ । ग्रामीण क्षेत्रका विद्यालयमा ट्युसनलगायतका अतिरिक्त कक्षाबाट थप आम्दानी नहुने भएकाले शिक्षकहरू आउन नचाएको पौडेलले बताए । गाउँपालिकाका सूचना अधिकारी दुर्गा प्रसाद सुवेदीले संघीय अनुदानमा रहेको पदमा शिक्षकको अभाव रहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस