जल तथा मौसमसम्बन्धी नीतिको मस्यौदा तयार « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

जल तथा मौसमसम्बन्धी नीतिको मस्यौदा तयार


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सरोकारवालाहरूले जलवायु परिवर्तनका कारण विपद्का घटना वृद्धि भएको जनाउँदै यस क्षेत्रमा लगानी बढाउन माग गरेका छन् । ।

आज काठमाडौँमा आयोजित पूर्वानुमानमा आधारित पूर्वकार्यको राष्ट्रिय ढाँचातर्फ भन्ने नारासहित आयोजित दुई दिने राष्ट्रिय संवादको उद्घाटन सत्रमा बोल्दै उनीहरूले विपद्जन्य घटना न्यूनीकरण र प्रतिकार्यमा लगानी बढाउन सुझाव दिएका हुन् ।  

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले पछिल्लो समय जलवायु परिवर्तनका कारण विपद्का घटना विश्वव्यापी रूपमा नै बढिरहेको भन्दै यस क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

जल तथा मौसमजन्य घटनाहरू प्रमुख विपद्को रूपमा रहेको भन्दै प्रतिकार्यका लागि पूर्व सूचना प्रणाली बलियो हुनुपर्नेसमेत उनको सुझाव रहेको छ ।

“हामीले बहुप्रकोपिय प्रकोपका पूर्व सूचना प्रणाललिाई पनि व्यवस्थित बनाउने योजना अगाडि सारेका छौँ, बहुप्रकोपिय प्रणाली ढाँचा तयार गर्दा, अवलोकनका क्रियाकलापलाई पनि  साथै लानुपर्छ,” उनले भने, “विगत छ महिना अघि पनि एनसिएलसँग १३ ओटा विपद्का घटनाको बारेमा एसएमएस प्रवाह गर्ने गरी नवीकरण भएको छ, आगामी असारमा नेपाल टेलिकमसँगको नवीकरणीय गर्ने क्रममा १३ ओटा बहुप्रकापिय विपद्को सूचना दिने गरी एसएमएस प्रवाहका सम्झौता हुने छ ।”

पूर्व सूचना प्रणाली जडानका लागि विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट लगानी भइरहेको उनले जानकारी दिए । नेपालमा तीन ओटा मौसमी प्रणाली जडान भए पनि एक मात्र मौसमी प्रणाली सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । 

“हामीले बाढीलगायतका विपद्जन्य घटनाको विषयमा पूर्व सूचना दिने प्रयासहरू त गर्‍यौँ, यसले कतिको धनजनको क्षतिबाट त जोगाएको छ,” उनले भने,“तर हामीले अहिलेसम्म जे जति प्रयास गरेका छौँ, ती प्रयास पर्याप्त हुन सकिरहेको छैन ।”

विपद् पूर्वानुमान प्रणालीहरू सबै सञ्चालनमा नहुँदा प्रभावकारी र भरपर्दो रूपमा पूर्व सूचना प्रवाह हुन नसकेको समेत उनको भनाइ छ । “भएका प्रणालीले पनि सूचना जे-जति दिन सक्ने हो त्यति दिन सक्ने अवस्थामा पुग्न सकेको छैन,” महानिर्देशक कर्माचार्यले भने, “तसर्थ अव भने भएका प्रणालीलाई नियमित सञ्चालन गर्ने र बढीभन्दा बढी सूचना प्रवाह गर्ने लक्ष्य रहेको छ, यसका लागि विभिन्न विकास साझेदार निकायसँग समन्वय गरेर अगाडि बढिरहेका छौँ ।” 

हाल सञ्चालनमा रहेको पूर्व सूचना प्रणालीबाट राम्रो प्रतिफल हासिल गर्न सफल हुने गरी काम अगाडि बढाइने नीति रहेको उनको भनाइ छ । “सङ्गठन संरचना परिमार्जन गर्ने र दरबन्दी थप गर्ने योजना छ,” उनले भने, “जल तथा मौसमसम्बन्धी नीतिको मस्यौदा पनि अन्तिम चरणमा पुगेको  र जल तथा मौसमसम्बन्धी पूर्व सूचनालाई बढी उपयोगी बनाउने हिसाबले काम भइरहेको छ ।” 

राष्ट्रिय विपद् परिषद्का सदस्य डा. गङ्गाधर तुलाधारले विसं २०७२ मा गएको गोर्खा भूकम्पले विपद् पूर्व तयारी र प्रतिकार्य गर्नुपर्नेमा राम्रो शिक्षा दिएको बताए । “विपद्पछिको राहत भन्दा पनि विपद् पूर्वको पूर्व तयारीका कामलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्छ,” उनले भने, “सम्मेलनले विपद् प्रतिकार्य कार्ययोजना खाका बनाउने कुरामा सहयोग पुग्ने छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस