जसपाको कार्यकारिणी समिति बैठक बस्दै  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

जसपाको कार्यकारिणी समिति बैठक बस्दै 


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । पार्टी विभाजनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अदालत जाने भएका छन् । त्यसबारे छलफल र निर्णय गर्न बुधबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको र त्यसपछि अदालत जाने तयारी रहेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । 

उनका अनुसार बैठक लगत्तै पत्रकार सम्मेलनको आयोजना गरिएको छ । ‘आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ, बैठकपछि पत्रकार सम्मेलनमा राखेका छौँ,’ उनले भने, ‘हामीले आफ्ना कुरा त्यहीबाट राख्छौँ । तर हामी अदालत जाने तयारीमा छौँ ।’ उनका अनुसार बिहान बैठक बस्ने र साढे ११ बजेपछि पत्रकार सम्मेलनबाट धारणा सार्वजनिक गर्ने कार्यक्रम छ । 

पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा सात जना सांसदहरुले नयाँ पार्टी स्थापना गरेका छन् । उनीहरूको निवेदनउपर कारबाही गर्दै निर्वाचन आयोगले सोमबार नै पार्टी दर्ताको निर्णय गरिसकेको छ । तर यादव पक्षले भने संसद्को बर्खे अधिवेशन आह्वान भइसकेको, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकिर गर्दै विभाजन षड्यन्त्रपूर्ण तरिकाले गराइएको आरोप लगाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस