गण्डकीमा सभामुखको कदम संविधानमाथिकै ठाडो प्रहार भएको काँग्रेसको ठहर  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गण्डकीमा सभामुखको कदम संविधानमाथिकै ठाडो प्रहार भएको काँग्रेसको ठहर 


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गण्डकी प्रदेश सभामा सभामुखबाट असंवैधानिक कार्य भएको ठहर गरेको छ ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखद्वारा संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यास विपरीत भएको असंवैधानिक कार्यप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, नेपालको संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख भएअनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट गर्नुपर्ने व्यवस्था हुँदाहुँदै ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नु नेपालको संविधानको मर्म र भावना तथा संसदीय शासन पद्धतिको आधारभूत मूल्य, मान्यता एवं संसदीय अभ्यास र परम्परा विपरीत गरिएको कार्य हो भन्ने नेपाली काँग्रेसको ठहर छ ।

उक्त कार्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र नेपालको संविधानमाथिकै ठाडो प्रहार हो र यसले सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको भन्दै असंवैधानिक कार्यको निन्दा र भर्त्सना गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस