जापानी विदेशमन्त्री आज नेपाल आउँदै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

जापानी विदेशमन्त्री आज नेपाल आउँदै


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौँ आउँदै छिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौँ आउन लागेकी हुन् ।

काठमाडौँमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ । नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा उनको यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन मद्दत मिल्ने विश्वास छ ।

मन्त्री श्रेष्ठसँगको भेटवार्तालगत्तै खामिखावा आजै काठमाडौँबाट टोकियो फर्किने जापानको विदेश मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ । जापानकी विदेशमन्त्री खामिखावाले अप्रिल २६ देखि नेपाल र श्रीलंकासहित मादागास्कार, कोट डी आइवर, नाइजेरिया र फ्रान्सको भ्रमणमा निस्किएकी थिइन् । ४ मे मा श्रीलंका पुगेकी उनी त्यहाँ एक दिन बसेर ५ तारिख नेपालको राजधानी काठमाडौं आउन लागेकी हुन् ।

नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो ।त्यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउको मन्त्रीस्तरीय भ्रमण भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस