रुपन्देही । रुपन्देहीमा भाडामा गुड्ने ट्याक्सी चालकहरूले मनपरी भाडा लिने गरेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्टिङ अपरेसन चलाएका छन् ।
शुक्रबार बिहान प्रजिल अर्यालले १५ जना कर्मचारीहरूलाई विभिन्न स्थानमा खटाई स्टिङ अपरेसन चलाएका हुन् । ‘पाँच जना एयरपोर्ट, पाँच जना बुद्ध चोक र पाँच जनालाई नेपाल-भारत सीमा नाका बेलहीयामा परिचालन गरेको थिएँ’, उनले भने, ‘उनीहरूलाई यात्रुको रूपमा यात्रुकै भेषमा खटाएको थिएँ ।’
जिल्ला प्रशासन कार्यालयले ट्राफिक प्रहरी, ट्याक्सी व्यवसायी संघ, उपभोक्ता लगायतको सहभागितामा रुपन्देहीका विभिन्न स्थानमा जाने ट्याक्सीहरूको भाडा दर कायम गरेको थियो । दुई महिना पहिले ट्याक्सीको भाडादर कायम गरिए पनि कार्यान्वयन नभएको गुनासो आएपछि प्रशासनले विभिन्न स्थानमा कर्मचारी परिचालन गरेको हो ।
यात्रुको रूपमा खटिएका कर्मचारीहरूले बढी भाडा लिने सात वटा ट्याक्सी चालकलाई रंगेहात नियन्त्रणमा लिएको प्रजिअ अर्यालले जानकारी दिए । ट्याक्सी चालकहरूले पाँच सय रुपैयाँ लिनुपर्नेमा १५ सय रुपैयाँसम्म भाडा लिएका थिए ।
यसरी तोकिएकोभन्दा बढी भाडा लिनेहरूमा लु १ ज २७६३, लु १ ज २७४१, लु १ ज २४९८, लु १ ज ३२६३, लु १ ज २३४३, लु १ ज ४०३१ र लु १ ज ३८९५ नम्बरका ट्याक्सी छन् । ट्याक्सी र चालकहरू रमेश सुनार, थमन थापा, मोहन अधिकारी, अर्जुन ठाकुर, सुमन अग्रवाल, अरुण राना मगर र आकाश गुरुङलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका ट्याक्सी चालकहरूलाई ठगी मुद्दा चलाउनुपर्ने भए पनि ट्याक्सी व्यवसायी संघका पदाधिकारीले एक पटकका लागि जिम्मा लिन्छौँ भनेकाले भोलि छलफलका लागि बोलाइएको प्रजिअ अर्यालले जानकारी दिए ।
दुई महिनाअघि विभिन्न स्थानको लागि ट्याक्सीको भाडादर निर्धारण गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले भैरहवाको बुद्ध चोक, देवकोटा चोक, गौतमबुद्ध विमानस्थल, बेलहिया र बुटवल बसपार्कदेखि एक किलोमिटरदेखि २८ किलोमिटरसम्मको दूरीका लागि न्यूनतम तीन सय रुपैयाँदेखि एक हजार २ सय ६० रुपैयाँसम्म भाडा दर कायम गरेको थियो ।

प्रशासनले स्टिङ अपरेसन चलाएको थाहा पाएपछि केही ट्याक्सी चालकले निर्धारण गरेको भन्दा कम भाडा लिएको पाइएको छ । प्रशासनबाट खटाइएका अन्य आठ जना कर्मचारीले पाँच सय तिर्नुपर्नेमा भाडादर भन्दा कम भाडा तिरेको अनुभव सुनाए । यात्रुहरूले पनि प्रशासनको उक्त कदमलाई सकारात्मक रूपमा लिँदै प्रशंसा गरेका छन् ।