राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न बजेटको समस्या हुन नदिने मन्त्री महासेठको दाबी    « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न बजेटको समस्या हुन नदिने मन्त्री महासेठको दाबी   


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राष्ट्रिय गौरवको आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्न बजेटको समस्या हुन नदिने बताएका छन् ।

सिंहदरवारमा बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले विभिन्न समस्या समाधान गर्दै राष्ट्रिय गौरवको आयोजनाहरू अघि बढेको भन्दै समयमा नै आयोजना सम्पन्न गर्न बजेटको समस्या हुन नदिने बताएका हुन् ।

मन्त्री महासेठले करिब १८ सय किलोमिटर रहेको हुलाकी सडकखण्डको कामले गति लिए पनि केही खण्डमा समस्या देखिएकाले असार मसान्तभित्र समस्या समाधान गरी काम गर्न अल्टिमेटम दिएको जानकारी दिए ।

उनले महिनाको डेडलाख सवारी चालक अनुमति पत्र छाप्ने गरी काम सुरु भइसकेको भन्दै पूर्ण रूपमा छाप्न १२ देखि १४ महिना लाग्ने जिकिर गरे । उनले सवारी चालक अनुमति छपाइमा अव समस्या नहुने दाबी गरे ।

बैठकमा समिति सदस्यहरूले विभिन्न आयोजनाहरू समयमा नै सम्पन्न नहुँदा आम जनतालाई समस्या परेको भन्दै राज्यले गम्भीर भएर ध्यान दिनुपर्ने सुझाव दिएका थिए । समिति सदस्य माधव सापकोटाले समयमा नै काम नभएको गुनासो जनताले गरे पनि निर्माण कम्पनीलाई कारबाही गर्न नसकिएको बताए ।

त्यस्तै, समिति सदस्य ज्ञानेन्द्र शाहीले कर्णालीलाई दिइएको विकास बजेट निकै कम भएको भन्दै आगामी वर्षको बजेटमा सरकारले यसलाई ध्यान दिनुपर्ने बताए । कर्णालीका अधिकांश स्थानको बाटो निकै दयनीय भएको भन्दै उनले सरकारले नसके आफैँ विकास गर्ने बताए ।

त्यस्तै, अन्य समिति सदस्यहरूले ठेक्का लिएर समयमा नै आयोजना सम्पन्न गर्ने कम्पनीलाई कडा कारबाही गरी क्षतिपूर्ति भराउने व्यवस्था गर्न समेत सुझाव दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस