संसद्को कार्यकालभरि यही राजनीतिक समीकरण रहने गुरुङको दाबी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

संसद्को कार्यकालभरि यही राजनीतिक समीकरण रहने गुरुङको दाबी


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अहिलेको सरकार संसद्को कार्यकालसम्मै रहने बताएका छन् । आज आयोजित एक कार्यक्रममा उनले भने, “संसद्को बाँकी समयसम्म यही समीकरण जान्छ । यसमा विभिन्न खेल हुन पनि सक्छन् तर अहिलेको समीकरण यो संसद्को बाँकी समयसम्म जान्छ ।”

उनले तेस्रो लगानी सम्मेलन सफल भएको पनि बताए । उनले देश विकासको लागि मुख्य आन्तरिक पुँजी भए पनि बाह्य पुँजी भित्र्याएर अगाडि बढ्नुपर्ने बताए । 

“देश विकासका लागि आन्तरिक पुँजी मुख्य कुरा हो तर हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा बाह्य पुँजी भित्र्याएर रोजगारी सिर्जनासँगै देशलाई समृद्ध बनाउन सकिन्छ । त्यहीअनुसार सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो”, उनले भने ।

चीनको १० दिने भ्रमण सकेर हालै स्वदेश फिर्ता हुनुभएका महासचिव गुरुङले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा नेपालको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि चीन सधैँ तत्पर रहेको पाइएको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस