श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रम र श्रमिकको सम्मान र अधिकारको रक्षा तथा समतामूलक एवं समावेशी समाजको निर्माण गर्न आह्वान गरेका छन् । 

विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिर्दै उनले श्रमिकका लागि सुरक्षित, निष्पक्ष र वृत्ति-विकासका लागि अनुकूल कार्यस्थलसहितको वातावरण निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताए  । 

‘हामीले यस्तो विश्वको परिकल्पना गरौँ, जहाँ प्रत्येक श्रमिकलाई सम्मानपूर्वक व्यवहार गरियोस्, उचित पारिश्रमिक, सभ्य कामको अवस्था र सामाजिक सुरक्षाको अधिकार प्रदान गर्ने वातावरण होस्’, उपराष्ट्रपति यादवले भने । उनले कार्यस्थलमा हुने शोषण, भेदभाव र असमानता उन्मूलनका लागि सबैले प्रयास गर्नुपर्ने बताए । 

श्रमिक दिवस श्रमिकको त्याग र समर्पणलाई सम्झिने र उनीहरूलाई सम्मान गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले यादवले भने, ‘श्रमिकहरू समाजका आधार स्तम्भ हुन्, जसले हाम्रा आवश्यकतालाई पूरा गर्न अथक परिश्रम गर्दछन् । उनीहरूको योगदान हाम्रो अर्थव्यवस्थामा अमूल्य छ ।’

उनले विश्वभरका मजदुरले सामना गरेका सङ्घर्ष र चुनौतीलाई स्वीकार गर्ने र उनीहरूको हित, अधिकारप्रति हाम्रो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउने अवसरका रूपमा विश्व श्रमिक दिवस रहेको स्मरण गरे । श्रमिकको अधिकारको रक्षा र उनीहरूलाई प्रोत्साहन गर्न जरुरी रहेको औँल्याउँदै उनले श्रमिकका लागि सुरक्षित र स्वस्थ कार्यस्थल उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

‘श्रमिक दिवसलाई एकता, करुणा र दृढ सङ्कल्पको नवीकरण गर्ने अवसरका रूपमा लिन सक्नुपर्छ, श्रमिकको विगतका सङ्घर्ष र बलिदानको सम्मान गर्दै सामाजिक-आर्थिक न्यायका लागि आफूलाई समर्पित गर्न सके मात्र श्रमिक दिवसको सार्थकता र महत्वको पुष्टि हुन्छ’, उनले शुभकामना सन्देशमा भनेका छन् । 

उनले समाज, देश र अर्थतन्त्रमा अतुलनीय योगदान पुर्‍याउने सबै परिश्रमी श्रमिकको योगदानको सम्मान गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस