काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विद्युत् आयात गर्ने देशबाट विद्युत् निर्यात गर्ने देशको रूपमा परिणत हुनु महत्त्वपूर्ण रहेको बताए । राष्ट्रपति पौडेलले यो सबैको लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरे ।
नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् छिमेकी भारतमा विक्रीको लागि बजार खुला गरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गरे ।
‘सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत् उत्पादनको लागि राखिएका लक्ष्य हासिल हुन सम्भव छ’ उनले भने ।
एक्स्पोले ऊर्जा विकासमा सहभागी सबै पक्षलाई एकै ठाउँमा ल्याएर हातेमालो गर्न सहयोग पुग्ने बताए । राष्ट्रपतिले हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न आव्हान गरे ।
ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतले जलविद्युत विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतिको महत्त्वपूर्ण आधार रहेको बताए ।
‘आगामी १२ वर्षभित्र २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्य योजना सरकारले ल्याएको र यो महत्वाकाक्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो’ उनले भने ।