भूमि व्यवस्थापन विभागका महानिर्देशकमाथि भएको दुर्व्यवहारप्रति कर्मचारी युनियनको आपत्ति « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

भूमि व्यवस्थापन विभागका महानिर्देशकमाथि भएको दुर्व्यवहारप्रति कर्मचारी युनियनको आपत्ति


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुर प्रसाद खनालमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । युनियनले एक विज्ञप्ति जारी गरी घटनाप्रति आपत्ति जनाउँदै कानूनी कारवाहीको माग गरेको हो ।

बुधबार आफ्नै कार्यकक्षमा काम गरिरहेका समयमा दुई-तीन जनाको समूहमा आएका व्यक्तिहरूले कार्यकक्षमा प्रवेश गरी खनालमाथि दुर्व्यवहार गरेको घटनाप्रति युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनले यस्तो अवाञ्छित तथा अराजक गतिविधिको हामी घोर निन्दा एवम् भर्त्सना गर्दै कानुन हातमा लिई यस्तो हर्कत गर्नेहरूलाई हदैसम्मको कानूनी कारबाही गर्न जोडदार माग गरेको छ ।

‘भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुर प्रसाद खनालज्यू मिति २०८१/०१/१२ गते आफ्नै कार्यकक्षमा काम गरिरहेका बखत दिउँसो अन्दाजी २:०० बजेको समयमा दुईरतीन जनाको संख्यामा आएका व्यक्तिहरूको समूह कार्यकक्षमा प्रवेश गरी उहाँमाथि दुर्व्यवहार गरेको घटनाप्रति नेपाल निजामती कर्मचारी युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो अवाञ्छित तथा अराजक गतिविधिको हामी घोर निन्दा एवम् भर्त्सना गर्दै कानुन हातमा लिई यस्तो हर्कत गर्ने निजहरूलाई हदैसम्मको कानूनी कारबाही गर्न जोडदार माग गर्दछौँ,’ युनियनका महासचिव जनक बहादुर रावलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’राजधानी मै रहेको सरकारी निकायमा कार्यरत उच्च तहकै कर्मचारीमाथि कार्यकक्षमा नै यस्ता दुर्व्यवहारका घटना हुँदा सरकारी कार्यालय एवम् राष्ट्रसेवक कर्मचारीको सुरक्षा व्यवस्थामा गम्भीर त्रुटि रहेको देखिन्छ । देशका विभिन्न स्थानमा कार्यरत कर्मचारीमाथि बारम्बार यस प्रकारका ज्यादती भइरहेका छन । यसबाट समग्र कर्मचारीको मनोबल कमजोर भएको छ । यसर्थ भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाई राष्ट्रसेवक कर्मचारीहरूले भयरहित तवरले कार्यसम्पादन गर्न सक्ने वातावरण बनाउन समेत नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछौ।’

Tags :
प्रतिक्रिया दिनुहोस