काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन सबै एकजुट हुन आग्रह गरेका छन्।
सोमबार नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशमा लोकतन्त्र स्थापना र जनतालाई सामाजिक न्याय प्रदान गर्न सबैको योगदान रहेको बताउँदै लोकतन्त्र कार्यान्वयनमा पनि एकजुट हुन आग्रह गरेका हुन्।
‘देशमा लोकतन्त्र स्थापना र जनतालाई सामाजिक न्याय र समृद्धि दिनेमा हामी सबैको सकारात्मक योगदान छन्। हामीले सबैले एक अर्काका योगदानहरूलाई सम्मान गर्ने एक अर्कालाई सकारात्मक कुराहरूबाट सिक्ने र एक अर्कासँग बसेर समीक्षा गरेर कमजोरीहरूलाई हटाउनुपर्छ। कम्युनिष्ट पार्टीमा रहेकाहरूको मुख्य जिम्मेवारी राम्रा र कमजोरीहरूको समीक्षा गरौँ, ‘प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘आगामी दिनमा अझ उन्नत विचार विकास गरेर जनता राष्ट्रको पक्षमा उभिने संकल्प गरौँ।’
प्रधानमन्त्री ‘प्रचण्ड’ले सफलता र असफलताको समीक्षा गर्दै आउने १०० वर्षमा समाजवादलाई नयाँ चरणमा पुर्याउनुपर्ने औँल्याए। संविधानको कार्यान्वयन र समाजवादको आधार तयार पार्ने कुरामा इमानदारका साथ लाग्नुपर्ने उनको भनाइ छ।