दुई महिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाउने ‘खेती’ बन्द गरिँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

दुई महिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाउने ‘खेती’ बन्द गरिँदै


९ बैशाख २०८१, आइतबार


काठमाडौँ । दुई महिनाका लागि अवधि तोकेर निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था हटाइने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द प्रसाद निरौलाले यस्तो गैर कानुनी दुई महिने निमित्त ‘खेती’ बन्द गर्ने जनाएका छन् । 

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको दीर्घकालीन समस्या समाधान गर्ने विषयमा ब्रिफिङ तथा छलफलका क्रममा सचिव निरौलाले पटक-पटक निमित्त दिने उद्देश्य के हो ? प्रष्ट आधार पेस गर्न सम्बन्धित महाशाखा प्रमुखलाई निर्देशन दिएको एक उच्च अधिकारीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए । 

‘कुन कानुनमा लेखेको छ दुई महिने निमित्त दिने ? यो गर्नुको उद्देश्य के ?’ सचिव निरौलाको भनाई उद्धृत गर्दै ती स्रोतले भने, ‘राम्रो काम गरेन भने हटाउन सकिन्छ तर यसरी दुई दुई महिनामा निमित्त रिन्यु गर्दै जाने व्यवस्था त राम्रो नभएकोले तत्काल बन्द गरिने बताएका छन् ।’ 

तत्कालीन मन्त्री अनिता देवी तथा सचिव विनोद प्रकाश सिंहको कार्यकालमा दुई महिने निमित्त चलन शुरु गरेका थिए । कुनै कानुनमा उल्लेख नभएको व्यवस्था शुरु गर्दै थप विकृति भित्र्याएको भन्दै सोही समयमा पनि कर्मचारीहरूबाट विरोध भएको थियो तर त्यसलाई लत्त्याउँदै तीन-चार पटकसम्मै उक्त गैर कानुनी निर्णय नै जारी राखियो । सयौँ पालिकाहरूमा यसरी दुई महिने निमित्त दिएकोबारे यसअघि नै प्रशासन डटकमले समाचार प्रकाशन गरेको थियो । 

सम्बन्धित समाचार : नयाँ मन्त्रीसँगै रोकिएला त सामान्यको ‘गैर कानुनी’ दुई महिने निमित्त ‘खेती’

असोज पहिलो साताबाट शुरु गरिएको दुई महिने निमित्त खेतीमा ठूलो आर्थिक चलखेल भएको भन्दै प्रमुख प्रशासकीय अधिकृतहरूबाटै विरोध हुँदै आएको छ । नवनियुक्त मन्त्री भानुभक्त जोशीले नेतृत्व सम्हालेसँगै नियम र कानुन अनुसार नै मन्त्रालय चल्ने र सबै कर्मचारीलाई हित हुने गरी अघि बढ्ने बताउँदै आएका छन् । सोही अनुसार नै काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिँदै आएका मन्त्री जोशी कर्मचारीहरूका गुनासाहरूलाई न्यूनीकरण गर्दै सेवा प्रवाह सहज रूपमा प्रदान गर्न भन्दै आएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस