कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले इजाजत प्राप्त हातहतियार सम्बन्धित व्यक्तिको साथमा नभई अन्य व्यक्तिको साथमा रहेको पाइएमा इजाजत पत्र रद्द गरी हतियार जफत गरिने जनाएको छ । प्रशासन कार्यालयले ३५ दिने सूचना जारी गरी यस्तो जनाएको हो ।
जुन जिल्लाबाट हातहतियार खरखजानाको इजाजत पत्र जारी भएको हो सोही जिल्लाबाट मात्रै इजाजत पत्र नवीकरण गरिने प्रशासन कार्यालयले जनाएको छ । हातहतियारको इजाजत पत्र प्राप्त गरेको जिल्ला बाहेक अन्य जिल्लामा र सुरक्षा संवेदनशील स्थानहरूमा लैजान नमिल्ने प्रशासनको सूचनामा उल्लेख छ ।
कञ्चनपुर जिल्लाबाट विभिन्न मितिमा हातहतियार राख्ने इजाजत पत्र लिएका व्यक्ति/संस्थाहरूले नियमानुसार नवीकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त व्यक्ति÷संस्थाले नवीकरण गराएको अभिलेखबाट नदेखिएको भन्दै प्रशासनले नवीकरणको लागि हातहतियार र इजाजत पत्र सहित उपस्थित भई नवीकरण गराउन भनेको छ ।
प्रशासनले पाँच वर्ष भन्दा बढी नवीकरण नगरी म्याद गुजार्नेहरूले नजिकको प्रहरी इकाईमा उक्त हातहतियार र इजाजत पत्र अनिवार्य रूपमा बुझाउन भनेको छ । सूचनाको बर्खिलाप गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने प्रशासनको चेतावनी छ ।