दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

प्रदेश प्रमुख नजिर मियाँले २३ चैतमा १० दिनको समय दिएर संविधानको धारा १६८ को (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।

२ वैशाखमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका थिए तर प्रदेश प्रमुखले नाउपाका दुई जना प्रदेश सभा सदस्यको दाबीका कारण निष्कर्षमा पुग्न नसकेको भन्दै मंगलबार फेरि दुई दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार दाबी पेश गर्न आह्वान गरेका छन् ।

नाउपाका संरक्षक रेशम चौधरी पक्षका लक्ष्मणकिशोरले नेपाली काँग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका थिए भने अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाशले एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले मंगलबार प्रदेश प्रमुखलाई पत्र बुझाएर लक्ष्मणकिशोरलाई समर्थन नरहेको बताएका थिए ।

एकीकृत समाजवादीले एमाले माओवादीसहितको गठबन्धनमा सुदूरपश्चिममा मुख्यमन्त्री पाउने सहमति भएपनि तोडिएको भन्दै यसअघि सोडारीले लक्ष्मणकिशोरलाई समर्थन गरेका थिए ।

तर मंगलबार गठबन्धनको शीर्ष तहमा समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएका बेला प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा दाबी आह्वान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस