काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भित्ते बगैँचामा बुधबार दुई सय फूल र लहरा बोटका बिरुवा रोपिएको छ।
पार्क तथा हरियाली प्रवर्द्धन आयोजना अन्तर्गत कामपाले रत्नपार्कको आकाशे पुलका दुई भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेर सुरु गरेको हो।
कामपाले चालु आर्थिक वर्षमा एक लाख बिरुवा रोपी महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित सहर’ गौरवको योजनाका रूपमा उक्त कार्यक्रम सञ्चालन गरेको हो।
यस क्रममा आयोजनाका प्रमुख नवराज थापा,महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा बिरुवा रोपिएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।
उनका अनुसार रोपिएका फूलमा बेगमबेली र स्वस्थानी फूल (भेरेस्ता) छन्। बेगनबेलीमा पनि गुलाबी,रातो, सेतो,पहेँलो, सुन्तला गरी विभिन्न प्रकारका फूल फुल्ने बिरुवा छन्। सामान्यतयाः यो जातको फूल चारदेखि छ महिनासम्म फुलिरहन्छन्। यी बिरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ। यसबाट आफूले चाहेको आकार र स्वरूपको बनाउन सकिने श्रेष्ठको भनाइ छ।
त्यसैगरी, हरियाली हुने होया, मनिप्लान्ट, आइज्यूका बिरुवा रोपिएका छन्। यी बिरुवा लहरिँदै बढ्दै जान्छन्। यी आकाशे पुलका भित्ता साढे ३२ मिटर लामा छन्। उचाइ साढे छ मिटरसम्म छ। भित्ताको जमिन सतहमा खाडल खनेर फूलका बिरुवा रोपिएका छन्। लहराउने बिरुवालाई गमलामा झुन्ड्याइएको छ। यसमा बिरुवा लहराउन भित्ताभरि दुई/दुई वर्गमिटरका जालीदार बार बनाइएको छ। उक्त कार्य नौ लाख ५६ हजार लागतमा सम्पन्न गरिएको हो।