राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने अर्थमन्त्रीको प्रतिबद्धता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने अर्थमन्त्रीको प्रतिबद्धता


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने आश्वासन दिएका छन् । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको भेटवार्तामा अर्थमन्त्री पुनले उक्त आश्वासन दिएका हुन् । 

भेटका क्रममा ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरूबाट गुनासो आइरहेको जानकारी गराएका थिए । सरकारको राजस्व सङ्कलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए । ढकालले निजी क्षेत्रले सुव्यवस्थित रूपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत असर पर्ने बताए ।

अध्यक्ष ढकालले मुलुकमा उद्योग, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न अर्थमन्त्री पुनलाई आग्रह गरे । उनले अहिले मुलुकले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको बताए । लगानी सम्मेलन चाडै नै हुन गइरहेकोले अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई स्वदेशी लगानीकर्ताहरूलाई सम्मान गर्नुपर्ने र सरकारले व्यवसायीहरूको मनोबल बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस