बेचिएको आशङ्कामा आफन्तलाई गरेको त्यो फोन… « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बेचिएको आशङ्कामा आफन्तलाई गरेको त्यो फोन…


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । मानव बेचबिखनमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ७ स्थायी घर भई काठमाडौँ तार्केश्वर नगरपालिका वडा नं. ५ बस्ने वर्ष २५ को अर्जुन भन्ने चन्द्र बहादुर तामाङ र दुप्चेश्वर गाउँपालिका वडा नं. ३ स्थायी घर भई तार्केश्वर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३० को किरण तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो ।

२६ बबरमहल (२६०)ले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता ज्ञानेन्द्र प्रसाद फुयाँले जानकारी दिए । अर्जुनले सामाजिक सञ्जालबाट चिनजान गरी कुराकानी गर्ने क्रममा काठमाडौँको कंलकीमा रहेको होटेलमा काममा लगाई दिने प्रलोभन देखाएकोले २६ बबरमहल काठमाडौँ आएको प्रहरीले जनाएको छ । काम लगाउने भनिएको होटेलमा तत्काल मान्छे नराख्ने भयो भनी उनलाई अर्जुनले ३/४ दिन भारतमा घुमेर आऊ भनी किरणलाई जिम्मा लगाएका थिए । 

किरणले गत मङ्सिर १९ गते काठमाडौँको स्वयम्भू हुँदै भारतको पुना पुर्‍याएका थिए । पुनामा तीन जना अपरिचित महिलाहरूको जिम्मा लगाएपछि आफूलाई भारतमा बेचबिखनको लागि ल्याएको भन्ने शङ्का लागेपछि २६ बबरमहलले नेपालमा रहेका आफन्तहरूलाई फोन गरेकी थिइन् । आफन्तले तत्काल भागेर नजिकैको प्रहरी कार्यालयमा जाऊ भनी सिकाएकोले उनी उक्त स्थानबाट भागेर प्रहरीको सम्पर्कमा गएकी थिइन् ।

भारतीय प्रहरीले जाहेरवालालाई विभिन्न संघ संस्थाको समन्वयमा पुस १२ गते भारतबाट नेपाल फिर्ता पठाएको थियो । उनले आइतबार ब्युरोमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरेकी थिइन् । सोही आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले तार्केश्वरबाट पक्राउ गरेको हो । 

उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट २०८०।११।१६ गतेदेखि लागू हुने गरी दिन सातको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता फुयाँले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस