काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोड रुपैयाँभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताएका छन् ।
माओवादी केन्द्र मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘तल्लो तहका सरकारलाई बलियो बनाउन साना आयोजनामा केन्द्रले बजेट राख्दैन । आगामी आर्थिक वर्षदेखि यो लागू हुन्छ ।’
नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको प्रधानमन्त्री ‘प्रचण्ड’ले बताए । उनले भने, ‘प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिइसकेको छु ।’