बाजुरामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बाजुरामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक 


१८ चैत्र २०८०, आइतबार


बाजुरा । नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिना अगावै पाठ्यपुस्तक पाएका हुन् । 

जिल्लाको तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी र बडीमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल  गाउँपालिकाका सामुदायिक विद्यालयमा जनकशिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता करुणा पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पु¥याएको हो । 

पूर्वी उत्तरी भेगका चार पालिकाका सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक वितरण गर्न थालिएको छ । यहाँका बूढीनन्दा नगरपालिका तथा हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा रारा कर्णाली पुस्तक पसल कोल्टीले जिम्मेवारी लिएसँगै वितरण सुरु गरिएको जनाइएको छ । 

प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिना अगावै पुस्तक पाइएको पशुपति माविका प्रधानाध्यापक दयाराम जोशीले बताए । 

शैक्षिकसत्र सुरु हुनुभन्दाअगावै पाठ्यपुस्तक पुगेको भन्दै केही अपुग भएमा विद्यार्थी भर्नापश्चात् सोहीअनुसार पुनः माग गर्न सकिने प्रअ जोशीले बताए । समयमै पुस्तक पुगेसँगै शैक्षिकसत्र सहजरुपमा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

विगतका वर्षमा शैक्षिकसत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो । आगामी शैक्षिकसत्र २०८१ का लागि भने विद्यालयमा चैत १५ गते नै पुस्तक पुगिसकेको प्रअ जोशीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस