राना थारु समुदायको व्यावसायिक उत्थान जरुरी छ : मन्त्री भण्डारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राना थारु समुदायको व्यावसायिक उत्थान जरुरी छ : मन्त्री भण्डारी 


१७ चैत्र २०८०, शनिबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका राना थारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताएका छन् ।

नेपाल राना थारु युवा समाजले पहिलो पटक शनिबार काठमाडौँमा गरेको होली मिलन तथा खखडेहरा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको राना थारु समुदायको आर्थिक समृद्धिका लागि आगामी बजेटमा विशेष व्यावसायिक कार्यक्रम ल्याउन आफूले पहल गर्ने बताए ।

कैलाली र कञ्चनपुरका बस्तीको विकास तथा सुदूरपश्चिमको पहिचानमा राना थारु समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै उनले उद्योग मन्त्रालयबाट सो समुदायको आर्थिक उत्थान हुने कार्यक्रम बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । मन्त्री भण्डारीले लिखित रुपमै उत्पादनमुखी कार्यक्रम ल्याउन राना थारु युवा समाजलाई आग्रह गर्दै व्यावसायिकरुपमा पहिचान झल्काउने गरी नयाँ बजेटमार्फत कार्यक्रम ल्याउने बताए ।

विभिन्न पेशा तथा व्यवसायमा पहिचान बनाएका राना थारु समुदायको पहिचान सिङ्गो देशले देख्ने गरी काठमाडौँमा होली मिलन कार्यक्रम आयोजना गरेकामा उहाँले सो कार्यको प्रशंसा गरे । कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, पूर्वमन्त्री नारदमुनी राना, संविधानसभा सदस्य कृपाराम रानालगायतले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको राना थारु समुदायको उत्थानका लागि गर्नुपर्ने विषयमा चर्चा गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस