विश्व बैंकले भन्यो-नेपालको लेखा प्रणाली उत्कृष्ट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्व बैंकले भन्यो-नेपालको लेखा प्रणाली उत्कृष्ट


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ ।

विश्व बैंककी उपाध्यक्ष एवं फाइनान्स र अकाउण्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् ।

‘मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ’, उनले भनिन्, ‘नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।’

लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो ।

जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलो पटक अर्थमन्त्री भएका बेला राजस्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागू गरेको सुनाए । उनले परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गरे ।

मन्त्री पुनले नेपालको खर्च गर्ने क्षमता बढाउनुपर्ने र त्यसका लागि जनशक्ति विकाससहित कार्यशैली सुधारका काम गर्ने कार्ययोजना मन्त्रालयले बनाएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस