काठमाडौँ । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गरेको हो । भण्डारी ११ गते देखि अनिवार्य अवकाशमा जाँदै थिए ।
निजामती सेवा ऐन २०४९ को दफा ३७ अनुसार ०४९ कात्तिक २१ अगाडि सेवा प्रवेश गरेर ३० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीले त्यसरी अनिवार्य अवकाश हुन अगाडि स्वेच्छिक अवकाश(राजीनामा) रोज्दा ६० वर्ष पुग्न बाँकी अवधि थपेर गणना हुने र त्यसैको आधारमा पेन्सन पाउने व्यवस्था भएकोले अगाडी नै राजीनामा दिँदै आएका छन् ।
कर्मचारीले ५८ वर्षे उमेर हदबन्दी पूरा गरेपछि स्वतः अवकाश पाउँछ तर सचिवले उमेर नपुग्दै पाँच वर्षे कार्यकाल सकिएपछि अवकाश पाउने भएकाले सो प्रावधान राखिँदै आइएको छ ।
यसैगरी सचिवहरूको सरुवा यही बैठकबाट टुङ्गो लगाउनेबारे पनि छलफल भएको छ । हाल रिक्त रहेका पदहरूमा प्रदेशबाट ल्याउनु पर्ने र संघीय मन्त्रालयका सचिवहरूको पनि मिलान गर्नु पर्ने देखिएकोले थप छलफल पछि टुङ्ग्याउने एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी गराए । कतिपय मन्त्रालयका सचिवहरूले अहिलेको सरकारको गतिअनुसार लय नसमातिदिँदा मन्त्रालयका दैनिक प्रशासनिक कार्य सञ्चालन गर्नसमेत कठिनाई भई रहेको बताइएको छ ।