बढुवा प्रक्रिया तत्काल अघि बढाउन आइजी कुँवरलाई गृह सचिव अर्यालको निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बढुवा प्रक्रिया तत्काल अघि बढाउन आइजी कुँवरलाई गृह सचिव अर्यालको निर्देशन


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले नेपाल प्रहरीमा रोकिएको बढुवा प्रक्रिया तत्काल अघि बढाउन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई निर्देशन दिएका छन् । गृह सचिव अर्यालले मङ्गलवार बोलाएर वृत्ति विकास जस्तो विषयलाई तत्काल अघि बढाउन भनेका हुन् । 

‘गृहसचिवज्यूले आइजीसापलाई बोलाए लामो समयदेखि रोकिइराखेको बढुवा शुरु गर्न निर्देशन दिनुभएको छ’ गृह स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई भन्यो ‘वरिष्ठ हवलदारको बढुवा शुरु हुन्छ होला ।’ नेगेटिभ लिष्टमा रहेकोलाई छोडेर बाँकीको हकमा शुरु गर्न भनेको ती स्रोतले जानकारी दिए । 

यससँगै अन्य बढुवाहरू पनि खुल्ने विश्वासमा प्रहरी अधिकारीहरूको छ । त्यसो त गृहमन्त्री रवि लामिछाने र गृह सचिव अर्यालले आ-आफ्नो जिम्मेवारीको काम गर्न थप आदेश कुरिरहन नपर्ने र नियमसंगत काम गर्न कहिँकतैबाट कुनै खालको दबाब नआउनेसमेत बताई सकेका छन् । जसले गर्दा पछिल्लो समय प्रहरीमा देखिँदै आएको अनावश्यक बाह्य राजनीतिक दबाब अन्त्य हुने विश्वास अधिकारीहरूको छ । 

गृह सचिव अर्यालले नेतृत्व लिएसँगै मन्त्रालय तथा मातहतका निकायहरूले गति लिन शुरु गरेका छन् । मङ्गलवार मात्रै महिनौँदेखि रिक्त रहेको महत्त्वपूर्ण निकाय अध्यागमन विभागले महानिर्देशक पाएको छ भने अतिरिक्त(बरन्डा)मा रहेका सहसचिवहरूको सरुवा तथा पदस्थापन भएको छ । उपसचिवलाई प्रमुख जिल्ला अधिकारी पठाएर सहसचिवलाई जिम्मेवारीविहीन राख्ने प्रचलनसमेत तोडिएको जनाइएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस