प्रमुख प्रशासकीय अधिकृत र उपमेयरसहित नौँ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रमुख प्रशासकीय अधिकृत र उपमेयरसहित नौँ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेल र उपमेयर रेणुकादेवी काफ्लेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले सम्झौताअनुसार खोला नियन्त्रणका लागि तटबन्ध निर्माणको काम नगरी आर्थिक अनियमितता गरेको भन्दै आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन उपमेयर काफ्ले, सदस्य बेदकुमारी बलम्पाकी र लक्ष्मी कुमर तथा वडा नं १ का वडाध्यक्ष कुमार लामाले लखनदेवी खोला नियन्त्रण तथा स्पर निर्माणको कार्य सम्पन्न नहुँदै भएको भनी भुक्तानी दिन सिफारिस गरेका थिए ।

त्यस्तै हरिपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेल, इन्जिनियर रञ्जित साह र सव-इन्जिनियर सञ्जीव चौधरीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरूले तोकिएको भन्दा कम क्षेत्रफल र कमसल तटबन्ध बनाएर ८५ लाख १८ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।

सोही तटबन्ध निर्माणका लागि बनेको हरिपुर-१ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शमशेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मलाकुमारी देवीविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरूले खोलामा तटबन्ध नसकिँदै सकिएको भनी प्रतिवेदन बनाएको, बिल भर्पाई बनाएको, हाजिर हिनामिना गरेको र सम्झौता विपरीतको कार्य गरेको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस