नेकपा एसको महाधिवेशन दस्ताबेजमा वामपन्थी एकीकरणलाई प्राथमिकता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा एसको महाधिवेशन दस्ताबेजमा वामपन्थी एकीकरणलाई प्राथमिकता


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिएको छ । पार्टीको १०औँ महाधिवेशनका लागि तयार गर्न लागेको दस्ताबेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्त्व दिएको हो ।

वामपन्थी दलसँगको कार्यगत एकतालाई प्राथमिकतामा राखेर दस्ताबेज परिमार्जन गर्न लागेको पार्टीले वाम ध्रुवीकरणबाट विकास भएको नयाँ समीकरणलाई सहज र सकारात्मक प्रभाव पार्ने विषयवस्तुलाई दस्ताबेजमा समावेश गर्ने उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि निर्माणाधीन दस्ताबेजलाई थप अध्ययन गर्ने समय निर्धारण गरेको समितिले समान विचार तथा दृष्टिकोण भएका कम्युनिष्ट शक्तिसँग एकताका लागि अपुग भएका केही वस्तु थप्ने समझदारी भएको उनले बताए ।

यही चैत ६ गते दस्ताबेज मस्यौदा लेखन समितिको बैठकमा समाजवादी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावको वस्तुगत विश्लेषण गरिने खतिवडाले बताए । उनकाअनुसार राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवेदनमाथि सूक्ष्म छलफल गरी दस्ताबेज मस्यौदा लेखनलाई पूर्णता दिइने छ ।

पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमबारे समेत दस्ताबेज उल्लेख गरिएको पनि उनले सुनाए ।

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक प्रतिवेदन, नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा। बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले सङ्गठनात्मक प्रस्ताव तयारीका लागि नेताहरूसँग छलफल तथा परामर्श गरिसकेका छन् । सबै पक्षलाई समेटेर तयार गरिने प्रतिवेदन एकीकृत गरेर महाधिवेशनमा एउटै दस्ताबेज लैजाने पार्टीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस