भरतपुर भ्रमण वर्ष सफल पार्न रेनु दाहालको आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भरतपुर भ्रमण वर्ष सफल पार्न रेनु दाहालको आग्रह


३ चैत्र २०८०, शनिबार


काठमाडौँ । भरतपुर भ्रमण वर्ष प्रचार-प्रसार गर्ने उद्देश्यका साथ युरोप भ्रमणमा रहेकी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विभिन्न देशमा रहेका राजदूतसँग भेटघाट गरी भ्रमण वर्षलाई सफल बनाउन आग्रह गरेकी छन् ।

प्रमुख दाहालले फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग आज छुट्टाछुट्टै भेट गरी भ्रमण वर्षलाई सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेकी हुन् ।

सो अवसरमा नेपाली राजदूतहरूले आफ्नोतर्फबाट भ्रमण वर्षलाई सफल बनाउन आवश्यक साथ र सहयोग रहने बताएका थिए। नेपालको मध्यभागमा रहेको चितवन र भरतपुरको आफ्नै विशेषता एवं महत्त्व रहेको भन्दै राजदूतहरूले युरोपका पर्यटकलाई भ्रमणका लागि अनुरोध गर्ने विश्वास दिलाए। 

प्रमुख दाहालले बेल्जियम, स्पेन र फ्रान्सका विभिन्न सहरमा भएका विभिन्न कार्यक्रममा सहभागी भई भरतपुर भ्रमणका लागि निमन्त्रण गरेकी बताइएको छ । 

प्रमुख दाहालले युरोपका विभिन्न देशमा भरतपुर भ्रमण वर्षको प्रचार-प्रसार गर्न र भरतपुरको महत्त्वपूर्ण घुम्ने स्थानबारे जानकारी गराउन आग्रह गरेका थिइन् ।

भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा दुई लाख विदेशी र पाँच लाख नेपाली नागरिकलाई भरतपुर भित्र्याउने उद्देश्यसहित लक्ष्य लिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस