अहिलेको गठबन्धनलाई टिकाएर लैजान्छौँ, यो समीकरण कच्चा हुँदैन : ओली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अहिलेको गठबन्धनलाई टिकाएर लैजान्छौँ, यो समीकरण कच्चा हुँदैन : ओली


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धनलाई टिकाएर लैजाने बताएका छन् । ‘यो समीकरण अत्यन्त कच्चा हुँदैन भन्ने मैले विश्वास गरेको छु,’ बिहीबार महेन्द्रनगरमा एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले भने, ‘यसलाई टिकाएर लैजाने हो ।’

उनले अहिलेको गठबन्धन भवितव्यमा नभई धेरै हिसाबकिताब र छलफल गरेर बनेको दाबी गरे ।

अध्यक्ष ओलीले अहिलेको गठबन्धन कसैको इच्छा, आकांक्षा र चाहनाले नभई नेपाली जनताले बनाएको बताए । ‘यो गठबन्धन कसैले बनाएको होइन, हामीले बनाएका हौँ, चीन आयो चीनले बनायो भनेर हाम्रो अपमान गर्ने काम नगर्नुस्,’ उनले भने, ‘देश बनाउने संकल्पसहित अहिलेको सरकार बनेको हो ।’

उनले पुरानो गठबन्धन भत्किँदा काँग्रेसलाई ठूलो पीर परेको बताए । त्यही पिरले काँग्रेस छटपटाइरहेको उनले बताए । पुरानो गठबन्धन खरानीको डल्लो जस्तै भएकाले फुटेको उनले बताए ।

नयाँ समीकरण बनेसँगै सरकारले राम्रा कामहरूको सुरुवात गरेको बताए । उनले मिटरब्याजपीडित र आरती शाहसँग सहमति भएकोले सरकारले सकारात्मक र नतिजा दिने गरी काम गर्न थालेको बताए ।

अध्यक्ष ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न सुझाउँदै त्यसो हुन नसके स्वस्थ प्रतिस्पर्धा गरेर नेतृत्व चयन गर्न निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस