सरकारसँगको सहमतिपछि के गर्दै छन् मिटरब्याज पीडित ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारसँगको सहमतिपछि के गर्दै छन् मिटरब्याज पीडित ?


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संर्घष समितिबिच सोमबार चार बुँदे सहमति भयो । यो सहमतिसँगै मिटरब्याज पीडितले ४२ दिनदेखि गरिरहेको आन्दोलन स्थगित गरेका छन् ।

आन्दोलन स्थगित गरेर मिटरब्याज पीडितहरू घर फर्किँदै छन् । केही फर्किसकेका छन् भने केही फर्किने तयारीमा रहेको संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए ।

काठमाडौँमा आन्दोलनका लागि आएका ७ सय जना पीडितमध्ये करिब दुई सय जना अझै फर्कन बाँकी रहेको प्रवक्ता नवीनले बताए । २३ दिन हिँडेर काठमाडौँ आई आन्दोलन गरेका मिटरब्याज पीडितमध्ये केहीलाई घर फर्किन पैसाको समस्या भएको छ । उनले भने, हामी हिँडेर आयौँ । भाडा भएका साथीहरू हिजो साँझ र आज बिहान निस्कनु भयो । अन्यलाई पनि घर फर्किने वातावरण मिलाउँदै छौँ ।’

सोमबार राति सिंहदरबारमा गृह मन्त्रालय र मिटरब्याज पीडितबिच सहमति भएको हो । संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले भने, ‘सहमतिलाई कार्यान्वयनमा लैजाने राज्यको काम हो । सहमति हुन्छ भन्ने आशमा नै हामी घर फर्किन लागेको हो ।’

सहमति अनुसार नयाँ जाँचबुझ आयोग बन्नेछ र त्यसले अवैध रूपमा तयार गरिएका तमसुकहरू खारेज गर्न सिफारिस समेत गर्ने छ । प्रवक्ता नवीनले भने, ‘सरकारले विश्वासको मत लिएपछि सहमति क्याबिनेटमा लैजाने कुरा छ । क्याबिनेटले आयोग बनाउने होला । काम गर्ने कार्यविधि बनाउने होला ।’ उनका अनुसार एक हप्तामा काम टुंग्याउने आश्वासन दिइएको छ ।

सम्बन्धित समाचार : सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति, आन्दोलन स्थगित

Tags :
प्रतिक्रिया दिनुहोस