नेपालगञ्जबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपालगञ्जबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । बाँके प्रहरीका अनुसार आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको हो ।

आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए । स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गेली होटेलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको थियो ।

प्रहरीले होटेलका सञ्चालक कृष्ण विक, नेपालगञ्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको छ । उनीहरूको साथबाट भारतीय रुपैयाँ ११ लाख रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, बसपार्कस्थित होटेल रोयल कर्णालीबाट नेपालगञ्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन् । उनीहरूको साथबाट ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँ बरामद भएको छ ।

बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पुष्टि भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस