राष्ट्रिय सभाको अभिलेखबाट हटाइयो माओवादी सांसदले प्रयोग गरेको उखान-टुक्का  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभाको अभिलेखबाट हटाइयो माओवादी सांसदले प्रयोग गरेको उखान-टुक्का 


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय सभा नियमावलीमाथिको छलफलमा नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले प्रयोग गरेको शब्द संसदीय अभिलेखबाट हटाइएको छ ।

१८ फागुनको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा नियमावली २०८० माथिको छलफलमा सांसद सुनारले आफूले दलित सम्बन्धी छुट्टै समिति बनाउने प्रस्ताव गरेको तर, अस्वीकृत भएको भन्दै असन्तुष्टि पोखेका थिए । महिला समन्वय समिति रहँदा दलित सम्बन्धी समिति किन नरहने भन्ने उनको प्रश्न थियो ।

दलितको विषयमा छलफल गर्न संसदीय विषयगत समितिको नाम नियमावलीमै राख्न खोज्दा समेत अस्वीकार भएको भन्दै उनले यस्तो कार्यमा कम्युनिस्ट पार्टीका नेताहरू नै लागेको भनी असन्तुष्टि जनाएका हुन् ।

नियमावलीमाथिको छलफलमा समेत आफूले भाग लिन नपाएको गुनासो गर्दै उनले सभामै नियमावलीमाथि संशोधन प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव फिर्ता लिने कि नलिने भन्ने क्रममा उनले प्रयोग गरेको वाक्यांश संसदीय रेकर्डबाट हटाइएको हो ।

‘‘यसको विषयमा मैले भनिरहनुपरेन । स्यालको छाला ओढेको ब्वाँसो भन्ने कि के भने जस्तै कम्युनिस्टका नाम बोकेका मान्छेहरूको चरित्र उदांगो भयो’, सांसद सुनारले भनेका थिए ।

त्यतिनै बेला राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले ‘माननीय सदस्य शब्दहरूलाई अलि ख्याल गरिदिनुपर्ला’ भनी सम्झाएका थिए ।

पछि एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले अमर्यादित शब्द प्रयोग भएको भन्दै संसदीय अभिलेखबाट हटाउन माग गरेका थिए । त्यसपछि तिमिल्सनाले अर्को बैठकमा निर्णय सुनाउने बताएका थिए ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकको अध्यक्षता उपाध्यक्ष उर्मिला अर्यालले गरेकी थिइन् । उनले १८ फागुनको बैठकमा सुनारले बोलेको शब्दहरूप्रति भएको नियमापत्तिअनुसार संसदीय अभिलेखमा नरहने गरी हटाउन निर्देशन दिएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस