सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै रहने ईश्वर पोखरेलको दाबी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै रहने ईश्वर पोखरेलको दाबी


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले-माओवादीसहितको वर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै कायम रहने बताएका छन् । यस्तै सकारात्मक अवस्था रहिरहे भविष्यमा वामपन्थी एकतासमेत हुने उनले बताए ।

प्रेस चौतारी नेपाल कैलालीले आइतबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अहिलेको गठबन्धन विधिसम्मत र सकारात्मक हिसाबले बनेको जिकिर गर्दै काँग्रेससहितको गठबन्धन टुट्नु नै महत्त्वपूर्ण रहेको बताए ।

नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डा गर्दा एमालेले कुन–कुन मन्त्रालय पायो भन्ने कुरा महत्त्वपूर्ण नभएको बताउँदै पोखरेलले भने, ‘यही नयाँ गठबन्धनलाई सकारात्मक ढंगले अगाडि बढाउनुपर्छ भनेर लागेका छौँ । अवाञ्छित ढंगले खडा गरिएको काँग्रेससहितको गठबन्धन टुट्न सकारात्मक कुरा हो । सरकारमा कुन र कति मन्त्रालय पाउँछौँ भन्ने कुरा महत्त्वपूर्ण होइन ।’

‘१० पुस २०७९ मा बनेको अहिलेकै गठबन्धन दुर्भाग्यबस टुटेको थियो । तर अहिले हामी फेरी त्यही ठाउँमा पुगेका छौँ । मुलुकलाई सकारात्मक दिशातर्फ लैजान पहल सुरु भएको छ,’ पोखरेलले भने ।

काँग्रेससँगको गठबन्धन टुटेपछि नयाँ ढंगले राजनीति अघि बढेको बताउँदै उनले यो गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी गरे । संरचनागत ढंगले अघि बढ्ने क्रममा भविष्यमा यस्तै अवस्था भए वामपन्थी एकताको कुरा पनि हुनसक्ने भए पनि अहिले नै त्यो बारेमा नसोचेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस