व्यवस्थापकीय लापरबाहीले न्यारोबडी इजरायलमा ग्राउन्डेड, मर्मत गरेर कहिले आउँछ ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

व्यवस्थापकीय लापरबाहीले न्यारोबडी इजरायलमा ग्राउन्डेड, मर्मत गरेर कहिले आउँछ ?


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाल वायुसेवा निगमको व्यवस्थापकीय लापरबाहीका कारण झन्डै तीन महिनादेखि ‘लुम्बिनी’ नामक न्यारोबडी जहाज ग्राउन्डेड भएको छ । 

मर्मतका लागि इजरायल पठाइएको उक्त जहाज लामो समयदेखि ग्राउन्डेड भएको हो । इजरायल पठाइनुअघि काठमाडौँमा पनि ४४ दिन ग्राउन्डेड भएको थियो । न्यारोबडी जहाजको दायाँ इन्जिनको विस्तृत मर्मत गर्नुपर्ने भएपछि इजरायल पठाइएको हो । इजरायलस्थित इजरायल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड इजरायल (आईएआई) मा जहाज पठाइएको थियो ।

जहाज इजरायलमा थन्किएपछि जहाज अभावमा निगमले उडान कटौती गरेको छ । गन्तव्यमध्ये आधामा मात्रै निगमका जहाजले उडान गरिरहेका छन् । आन्तरिकतर्फ ३९ गन्तव्यमध्ये १९ वटा मात्रै उडान छन् । एउटा न्यारोबडीले दैनिक ९० लाख रुपैयाँसम्मको कारोबार गर्ने निगम स्रोतले जनायो । जहाज इजरायलमा थन्किँदा जहाजको दैनिक ब्याज करिब ११ लाख हाराहारी निगमले तिर्नुपर्ने अवस्था छ । 

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले भने, ‘एउटा न्यारोबडी इजरायलमा बसेको छ । ४० दिनमा बनाउनु भनेकोमा अझै बनाएर ल्याएको छैन । समयमा मर्मत हुन नसके नयाँ इन्जिन दिन्छु भन्ने सम्झौता थियो, त्यो अनुसार पनि काम भएको छैन ।’ आईएआईले निगमलाई पुरानो इन्जिन मर्मत गरेर बढीमा दुई साताभित्रै दिनुपर्ने सम्झौता भए पनि त्यो उल्लङ्घन भएको छ । 

सर्त पालना नगरेको इजरायल कम्पनीका अघि निगम निरीह छ । इजरायलबाट जहाज कहिले बनेर आउने हो टुङ्गो छैन । निगमका प्रवक्ता रमेश पौडेलले जहाजको इन्जिनमा समस्या आएपछि फेर्नुपर्ने सामान पाउन ढिलो भएका कारण जहाज मर्मत गरेर आउन ढिला भएको हो । तर, जहाज मर्मत गरेर कहिलेसम्म आइपुग्छ भन्ने यकिन भन्न नसकिने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस