काठमाडौँ। गण्डकी र सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार नेकपा माओवादीसँग आक्रामक बनेको नेपाली काँग्रेस लुम्बिनी प्रदेशमा भने नरम देखिएको छ ।
वैशाख १४ मा माओवादीसहितका ८ दलको नेतृत्वमा मुख्यमन्त्री बनेका नेपाली काँग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पछिल्लो घटनाक्रमबारे छलफल गर्न आज दिउँसो क्याबिनेट बोलाएका थिए ।
चौधरीको जोडबलमा प्रदेश सरकारले लुम्बिनीमा आयोजना गर्न लागेको शिखर सम्मेलन स्थगित भएपछि तनावमा रहेका उनी सोमबार दिनभर काठमाडौँ बसेर देउखुरी फर्किएका हुन् । उनीनिकट एक मन्त्रीले अरु प्रदेशमा जे भएपनि लुम्बिनीमा माओवादीका मन्त्री हटाउने विषयमा केही निर्णय नभएको बताए ।
मंगलबारको बैठकले प्रदेश सरकारले लुम्बिनीमा गर्न लागेको शिखर सम्मेलन हाललाई स्थगित गर्ने र बदलिँदो परिस्थितिअनुसार सरकार सञ्चालन गर्ने निर्णय भएको ती मन्त्रीले बताए । मंगलबारको बैठकमा मुख्यमन्त्रीसहित ७ जना सहभागी थिए । माओवादीबाट मन्त्री बनेका अर्थमन्त्री धनबहादुर मास्की गएका थिए भने नमूना केसी अनुपस्थित थिइन् ।