सिजन सुरु हुन लाग्दा ठमेलमा बढ्यो पर्यटकको चहलपहल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिजन सुरु हुन लाग्दा ठमेलमा बढ्यो पर्यटकको चहलपहल


१९ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । पर्यटकीय सिजन सुरु हुनैलागेको बेलामा संघीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ।

पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रूपमा लिने गरिन्छ ।

वसन्त ऋतुको सुरुआतसँगै अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यको अवलोकनका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउँछन्।

सन् २०२० मा विश्वका विभिन्न मुलुकसहित नेपालमा सुरु भएको कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रले यो याममा थोरै भए पनि गति लिने अपेक्षा व्यवसायीले गरेका छन् ।

ठमेलको चाक्सीबारीमा अन्तर्राष्ट्रियस्तरको आयुर्वेद चिकित्सामार्फत पर्यटकलाई उपचार गर्दै आएका स्पा सङ्घ नेपालका सचिव एवं जेन स्पाका सञ्चालक रामदेव महतो पछिल्लो समय नेपालको पर्यटन क्षेत्रले सकारात्मक मोड लिएको बताउँछन्।

‘अन्य समयमा दैनिक पाँच/सात जना स्पाका लागि आउनुहुन्थ्यो, पछिल्लो केही दिनदेखि २० देखि २५ जनासम्म आउने गर्नुभएको छ, यो नेपाली पर्यटन व्यवसायीको लागि खुसीको कुरा हो,’ उनले भने।

क्यासिनोसहित काठमाडौँको ठमेलमा सञ्चालित पाँचतारे द मल्ल होटलका फुड एण्ड बेभरेज इन्चार्ज राम पुडासैनी पछिल्लो समय होटलमा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको बताउँछन्।

‘पर्यटक याम सुरु भएर होला, मार्च महिनामा ६० प्रतिशतभन्दा बढी होटलका कोठा बुकिङ भएका छन्,’ उनले भने।

ठमेलमा डेढ दशकदेखि ह्याण्डिक्राप्टको व्यवसाय गर्दै आएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बास्तोला पर्यटकीय याम सुरु भएसँगै उनले, पश्मिना, फेल्टलगायतका सामग्रीको व्यापार बढ्ने विश्वास व्यक्त गर्छन्।

‘कोरोना अगाडिजस्तो व्यापार छैन, पर्यटकको चहलपहलले आशा भने जागेको छ, सायद गत वर्षभन्दा यस वर्ष व्यापार पक्कै राम्रो हुन्छ,’ उनले भने।

ठमेलमा दरबार हेरिटेज होटल सञ्चालन गर्दै आएका दिनेश ढकाल फ्रेबुअरीदेखि होटलमा पर्यटकको सङ्ख्या बढेको बताउँछन्।

‘फेब्रुअरीमा हाम्रो होटलमा समग्रमा भन्दा ७० प्रतिशत हाराहारीमा होटलका कोठा भरिएका थिए, मार्चमा पनि ८० प्रतिशत भरिने आश हामीले लिएका छौं,’ ढकालले भने।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष विमल धमलाले पछिल्लो समय ठमेलमा बाह्य पर्यटकको चहलपहल बढेको बताए।

‘पर्यटकीय याम सुरु भएर पनि होला, ठमेलमा यतिबेला पर्यटकको चहलपहल बाक्लोरुपमा देख्न सकिन्छ,’ उनी भन्छन्। ठमेल पर्यटन विकास परिषद्का अनुसार ठमेलभित्र दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन्।

ठमेलमा पर्यटकको चहलपहल भए पनि ढल र बिजुलीका तार बिच्छाउनका लागि सडक खन्दा पर्यटकलाई हिँडडुल गर्न  समस्या भएको छ । ठमेल काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको अधिकांश क्षेत्र भने २६ नं वडामा पर्छ ।

काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारी बाटोमा ढल हाल्दा बाटो बिग्रिएको बाटो एक हप्ताभित्र कालो पत्र गर्ने तयारी रहेको बताए।

काठमाडौँभित्र भित्रिने ८० प्रतिशतभन्दा बढी पर्यटक ठमेल घुम्नका लागि आउने गरेका छन् । ठमेललाई सफा र सुन्दर बनाउनका लागि महानगरपालिका लागिरहेको वडाध्यक्ष तिवारी बताउँछन्।

वसन्त ऋतु साहसिक पर्यटनका लागि उपयुक्त समय हो। यो याममा हिमाल र पहाडी डाँडापाखा साथै नदीमा जलयात्राका लागि पर्यटक आउँछन्।

यस्तै, पर्वतारोहणका लागि पनि नेपाल उपयुक्त मुलुक हो। सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लु , कञ्चनजङ्गालगायतका आठ हजार मिटरभन्दा माथिका हिमशृङ्खलासमेत नेपालमा रहेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा गत वर्षको तुलनामा यसवर्ष फेब्रुअरी महिनामा बाह्य पर्यटक आउने सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ। बोर्डका सूचना अधिकारी एवं निर्देशक मणिराज लामिछाने यस वर्षको फेब्रुअरीमा मात्र नेपालमा विभिन्न मुलुकबाट ९७ हजार ४२६ पर्यटक भित्रिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस