राष्ट्र बैंकका प्रतिनिधिसँगै ठूला सहकारीको अनुगमनमा निस्कियो विभाग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्र बैंकका प्रतिनिधिसँगै ठूला सहकारीको अनुगमनमा निस्कियो विभाग


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । सहकारी विभागले नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरूसँग मिलेर आजदेखि ठूला सहकारी संस्थाहरूको अनुगमन सुरु गरेको छ ।

विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा तीनवटा समूहले अनुगमन सुरु गरेको हो ।

समस्यामा परेका र सञ्चालनमा रहेका करिब १ दर्जन सहकारी संस्थाहरूको सो टोलीले अनुगमन गर्नेछ । सहकारी संस्थाको अनुगमनका लागि राष्ट्र बैंकले उपनिर्देशक डा. रमेश चौलागाईं, लघुवित्त विभागका रमेश पौडेल र गैरबैंकिङ वित्तीय संस्थाका रामकृष्ण राई रहेका छन् ।

विभागका अनुसार आज काठमाडौँ उपत्यकामा भएका सहकारी संस्थाहरूको अनुगमन हुनेछ र भोलिबाट उपत्यका बाहिर रहेका सहकारी संस्थाहरूको समेत अनुगमन हुनेछ ।

उक्त टोलीले गोर्खा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, आइडियल यमुना बचत तथा ऋण सहकारी, गौतम श्री बहुउद्देश्यीय, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लगायतको अनुगमन गर्नेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला सहकारीको अनुगमन निरीक्षणका लागि सहयोग गर्न भन्दै केही समय अघि राष्ट्र बैंकलाई पत्र पठाएको थियो ।

तर राष्ट्र बैंकले आफूले छुट्टै अनुगमन गर्ने नभई प्रतिनिधि पठाएर सहयोग गर्ने बताएको थियो । सहकारी संस्थाहरूमा समस्या देखिन थालेपछि ठुला सहकारीको अनुगमनको जिम्मा पनि केन्द्रिय बैंकले नै लिनुपर्ने आवाज उठ्दै आएको छ । तर बैंकका अधिकारीहरू भने राष्ट्र बैंक ऐनले सहकारी नचिन्ने बताउँदै आएका छन् ।

सम्बन्धित समाचार : राष्ट्र बैंकका प्रतिनिधि सहित सहकारी अनुगमन गर्ने तयारी 

Tags :
प्रतिक्रिया दिनुहोस