क्यूबेकदेखि मन्ट्रियल-ओटावासम्म « प्रशासन
Logo १ बैशाख २०८१, शनिबार
   

क्यूबेकदेखि मन्ट्रियल-ओटावासम्म


१२ फाल्गुन २०८०, शनिबार


७ अगस्त २०२३ मा हामी क्यूबेकमै घुम्दै छौँ । क्यानडाको मन्ट्रियल आफैमा ऐतिहासिक शहर पनि हो । अन्तर्राष्ट्रिय विमानस्थल पनि भएको क्यानडाको दोस्रो ठुलो शहर पनि हो । यहाँ २०२१ को जनगणना अनुसार १७,६२,९४९ जनसङ्ख्या छ भने महानगरको जनसङ्ख्या ४२,९१,७९२ रहेको छ । ओटवा भन्दा १९६ कि.मि पूर्व र क्यूबेकको दक्षिण तर्फ २५८ कि.मि मन्ट्रियल रहेको छ । यो शहर मन्ट्रियल टापुसँग जोडिएकोले पनि त्यसैको नामकरण गरिएको रहेछ । 

यहाँ ८५ प्रतिशतले फ्रेन्च भाषा बोल्दा रहेछन् । यो शहर क्यूबेक प्रदेश अन्तर्गत पर्दो रहेछ । सन् १९७६ को जुलाई १७ देखी अगस्त १ सम्म यहाँ गृष्मकालीन ओलम्पिक खेल भएको थियो । सो खेलमा ९२ राष्ट्रले भाग लिएका थिए, जुन बेलायतकी महारानी एलिजाबेथ द्वितीयले उद्घाटन गरेकी थिइन् । त्यसैले पनि विश्वको ओलम्पिक खेल खेलाउने शहर पक्कै पनि महत्त्वपूर्ण हुन सक्छ भन्ने अभिप्रायका कारण पनि मन्ट्रियल घुम्ने रहर लागेको थियो । सांस्कृतिक हिसाबले पनि मन्ट्रियल महत्त्वपूर्ण छ भन्ने सुनेको थिए, त्यसैले पनि त्यहाँ घुम्ने रहर थियो ।

मन्ट्रियल पुगेपछि प्रायः गरेर नोट्रेडयाम नपुग्ने कमै होलान् । यो एउटा क्याथोलिक चर्च हो । यो हेर्दैमा अलि सुन्दर पनि छ । यो चर्च हेर्दैमा एउटा नाट्यशाला जस्तो आकर्षक छ । आर्किटेक्चर पढ्नेहरूका लागि अनौठो खालको पनि । यसमा रातो, निलो, बैजनी, सुनौलो लगायत धेरै रङहरू देख्न सकिन्छ । सयौँ काठका टुक्राहरू राखेर सजाएको उक्त चर्च धार्मिक अभियन्ताहरूको आकर्षणको रूपमा पनि रहेको छ । यो १६५७ मै फ्रेन्च नागरिकले बनाएका रहेछन् । चर्च भित्र बत्ती पनि बाल्दा रहेछन् । हाम्रो संस्कार सबै धर्मलाई सम्मान गर्ने बानी बसेकोले पनि हुन सक्छ, छोरीले चर्चको भित्र बत्ती बालिन् ।  वार्षिक रूपमा झन्डै करोडौँ मानिसले अवलोकन गर्ने पङ्क्तिमा हामी पनि पर्न सफल भयौँ । 

नोट्रेडयाम पश्चात् हाम्रो अवलोकन गर्ने मन्ट्रियलको पुरानो शहर पनि थियो । फेडरिक्टनबाट हिँडेपछि ठुला घर, अर्पाटमेन्टहरु, मान्छेको भिडभाड क्यूबेकमा आएर केही देखेका थियौँ भने यहाँ आउँदा अझ बढी देख्ने मौका मिल्यो । क्यानेडियनहरू पुरानो बस्तुहरूलाई संरक्षित गर्नुपर्छ भन्ने कुरामा अति नै सचेत भएको पाइयो । शहरको अवलोकन पश्चात् रोयल माउन्टेन पार्कतिर लाग्यौ । उक्त पार्क शहरको पश्चिम भाग तर्फ पर्दो रहेछ । यो खासगरी भिरालो जमिनलाई संरक्षित गरी शहरको सुन्दरता कायम गर्नु पनि रहेछ । 

खासगरी यसको ऐतिहासिक , सांस्कृतिक र सामाजिक हैसियत राख्ने हिसाबले पनि यो पार्क बनाइएको रहेछ । पार्क भित्र खेल मैदान, ट्रेकिङ रुट, र सिङ्गो शहर अवलोकन गर्न सकिने खालले बनाइएको रहेछ । पार्कको उत्तरी भागतर्फ विश्वविद्यालय, कलेज, हस्पिटल आदि संस्थाहरू बनाइएको रहेछ । शहरको सुन्दरता कायम राख्नु र पार्कबाट छेकिने गरी कुनै प्रकारको घर निर्माण नगर्ने नियम पनि बसालिएको रहेछ । उक्त स्थानमा पुग्दा केही नेपालीहरू पनि घुम्न गएको फेला पारेका थियौँ । शहर  दृश्यावलोकन गर्ने स्थानसम्म पुग्न पार्कमा केही छिन अलमलमा पनि परेका थियौँ । नातिनी बोक्ने आलो पालो हाम्रो रहिरहन्थ्यो ।

झन्डै तीन घण्टाको समय सौन्दर्य सम्पदामा खर्चिन पुग्यो । चर्च भित्र बस्यो त्यही बसी राखूँ जस्तो लाग्ने, पार्कमा गयो त्यतै अलमलिन मन लाग्ने, शहरको बाटोहरूमा घुम्दा घुमीरहुँ लाग्ने भई नै रह्यो । तर हाम्रो त्यस दिनको बसाई क्यानडाको राजधानी ओटावा पुग्नु थियो । झन्डै २०० कि.मि. टाढा रहेको उक्त स्थान पुग्न समयले हामीलाई च्यापी सकेको थियो, त्यसैले हामी हतारिँदै ओटावा तर्फ लाग्यौ ।                 

ओटावा पुग्दा पानी परिरहेको थियो । बेलुका दीपक थापा र मुनाकोमा खाने कार्यक्रम थियो । ज्वाइँले उहाँहरूलाई दाइ भाउजू भनेर सम्बोधन गर्नुहुन्थ्यो । खाना खाएपछि डाउन टाउनमा बस्ने कार्यक्रम थियो । ज्वाइँका साथीहरू आलो पालो गरी बस्नलाई धेरै कर गर्नु भएको थियो । सानो नानीको कारणले पनि हामी डाउन टाउनमा बस्ने निधो गरेका थियौँ ।  बेलुका थाकी सकेका थियौँ। त्यसैले विश्राम गर्न तर्फ लाग्यौँ । अर्को दिन ८ अगस्त २०२३ का दिन बिहानै देखि पानी परिरहेको थियो । एक छिन संसद् भवन, प्रधानमन्त्रीको भवन लगायतका ठाउँहरू हेर्ने जमर्को गरिरहेका थियौँ ।

हामीले संग्राहलय पनि हेर्ने सोंच राखेका थियौँ तर पानी परिरहेकोले त्यतातर्फ जाने कोसिस गरेनौँ । बिहानको खाना नेपाली भाइ हेमराज थापा र लक्ष्मी खड्काकोमा रह्यो, उनीहरू अत्यन्त शालीन मेहनती परिवार जोडी रहेछ । वहाँको बाबुलाई नातिनीले दादा भनेर खुसी भइन् । ओटावा क्यानडाको राजधानी पनि भएको र त्यहाँ शैक्षिक अवस्थालाई विचार गर्ने हो भने क्यानडाको सबैभन्दा बढी उच्च शिक्षा हासिल गर्ने स्थान पनि हो । प्रतिव्यक्ति आयको हिसाबले पनि यो ठाउँमा बढी छ । यो ओन्टारियो प्रान्तको दक्षिणी भागमा पर्दछ । राइडियु नहर जुन ओटावा नदीबाट निस्केको रहेछ । यो शहर क्यानडाको ऐतिहासिक शहर पनि हो । राइडियु नदीबाट निकालिएको नहरको सम्बन्धमा सिँचाइ सम्बन्धी जानकारी राख्नेहरूले यसको संरचनाको बारेमा नपढ्ने कमै इन्जिनियर होलान् । आजभन्दा २००–३०० वर्ष अगाडि बनेको नहरको महत्त्व आज पनि त्यतिकै छ । ओटावा नदी खास गरी सेन्ट लरेन्स नदीको एउटा भाग पनि रहेछ । 

हामी बिहान खाना पछि छोरी र ज्वाइँका केही साथीहरूसँग भेटघाटको कार्यक्रम पनि थियो । केहीबेर पानी बन्द हुने बित्तिकै हामीहरू भिन्न भिन्न ठाउँमा अवलोकनका लागि दौडी हाल्थ्यौ । सूचना प्रविधिमा उच्च ज्ञान राख्ने सबै नेपालको पुलचोक इन्जिनियरिङ अध्ययन संस्थानबाट स्नातक गरेका होनहार नेपाली भाइहरूको जमघट पनि त्याहा बाक्लै रहेछ । सबैको बसाइ पनि नजिकै नजिकै राख्नु भएको रहेछ । नेपालको विभिन्न क्षेत्रबाट त्यहाँ पुग्नु भएको रहेछ । त्यो बेला फेरी मलाई ब्रेन ड्रेनको कुराले झस्कायो पनि । दिउँसो खाजा विनय बानियाँ र महिमा शर्माकोमा खान पुग्यौँ । साथै खगेन्द्र बेलवासे र अम्बिका पोखरेलकोमा बेलुकाको खाना खाई हामी डाउन टाउन तर्फ नै लागेका थियौँ । नेपाली भाइ बहिनीहरू भेट्दा नेपालीपन भेटिन्थ्यो । आत्मीयता सहृदयता पारस्परिकता हरेक नेपालीमा झल्कन्थ्यो त्यसले पनि हामीलाई नेपालको कुनै कुनामा पो छौँ कि भन्ने आभास दिलाएको थियो । 

ओटावा शहरको जनसङ्ख्या २०२१ को जनगणना अनुसार १० लाख १७ हजार ४४९ रहेछ भने महानगरको जनसङ्ख्या १४ लाख ८८ हजार तीन सय सात रहेछ । यो क्यानडाको चौथो ठुलो शहरको रूपमा पनि रहेछ । क्यानडाको उच्च शिक्षा हासिल गर्ने र प्रशासनिक भवनहरूको कारणले पनि ओटावालाई सम्झी राख्ने बनायो । 

क्रमशः

सम्बन्धित
काठमाडौँदेखि फ्रेडरिक्टनसम्म  

फ्रेडरिक्टन सहर र सेन्ट जोन नदी  

फ्रेडरिक्टनदेखि क्यूबेक

Tags :
प्रतिक्रिया दिनुहोस