काठमाडौँदेखि फ्रेडरिक्टनसम्म   « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काठमाडौँदेखि फ्रेडरिक्टनसम्म  


२२ पुस २०८०, आइतबार


गोविन्द राज पोखरेल

यात्रा निरन्तरको शीर्षक मैले झण्डै तीन महिनाको क्यानडा बसाइँमा राखेको थिए । जीवनका भोगाई, बसाई र हिँडाइहरू अनगिन्ती छन् । कहिले काहीँको हिँडाइ र बसाइँले अत्यन्त महत्त्व राख्दो रहेछ । छोरी र ज्वाइँको निमन्त्रणालाई स्वीकार गरेर मैले क्यानडा जाने निधो गरेको थिएँ । काठमाण्डौँदेखि क्यानडाको न्यु ब्रुन्सविक प्रदेशको फ्रेडरिक्टनसम्मको यात्रालाई यसमा प्रस्तुत गर्ने जमर्को गरेको छु । जुलाई अन्तिम(श्रावण १५) को दिन काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रातीको ८ बजे छोरी क्षितिज र ज्वाइँ युवराजले हात हल्लाउँदै बिदा गर्दाको क्षणले मलाई निकै भावुक बनाएको थियो । कतार एयरवेजबाट काठमाडौँदेखि कतार पुग्नलाई नै झण्डै पाँच घण्टा लाग्दो रहेछ । केही नेपाली भाइहरू पनि रोजगारीको सिलसिलामा उक्त विमान चढेका रहेछन् । कतै पहाड कतै समुन्द्रको माथि आकाशबाट पृथ्वीतिर नियाल्दै गयौँ । आकाशमा तरेली मार्ने आँखाहरू खै कता कता टोलाए कुन्नि मेसो नपाउँदै बिहान विमानबाट ओर्लिए ।  

यसभन्दा पहिले कहिल्यै अन्तर्राष्ट्रिय विमान नै नचढेकोले मेरा लागी सबै कार्य पहिलो अनुभव नै थियो । २ घण्टाको पर्खाइ पछि मैले क्यानडाको मोन्ट्रियलको लागी प्रस्थान गर्नु थियो । कतारबाट धेरै मुलुकको लागी विमान चल्ने हुँदा मैले मन्ट्रियल जाने कतार एयरवेज विमान पछ्याउँदै लागे । समयमै विमान मोन्ट्रियलको लागी प्रस्थान गर्यो। १३ घण्टासम्म जहाज भित्रै कुरमुरिनु बाहेक अरु केही थिएन । जहाज भित्र भिन्न प्रकारले बसाई व्यवस्थापन गरिँदो रहेछ ।  कतार एयरवेज कतारको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो, यस विमान कम्पनीले अमेरिका, युरोप, अफ्रिका, एसियाका १५० मुलुकमा सेवा पु¥याएको रहेछ । अहिले पनि यसका २०० विमानहरू रहेछन् र ४३ हजार भन्दा बढी कर्मचारीहरूले सेवा पु¥याएका रहेछन् । कतार एउटा इस्लामिक देश हो । यसको राजधानी दोहामा छ । 

१९७१ मा ब्रिटिस उपनिवेशबाट स्वतन्त्र मुलुक आफैमा गल्फ खाडीको छेउको सानो राष्ट्र पनि हो । एउटा विमान कम्पनीले लाखौँ मानिसहरूलाई आफ्नो देशमा लैजान सक्ने यो मुलुकको प्रतिव्यक्ति आय पनि माथि नै छ । विमान भित्र कम पैसा तिरेर यात्रा गर्ने र धेरै पैसा तिरेर यात्रा गर्नेहरूको लागी छुट्टै टिकट र सिट व्यवस्थापन गरिएको छ । कफी, चिया, हल्का पेय पदार्थहरूका साथै वाइन, ह्विस्की  समेत । खाना, नास्ता, सम्बन्धमा टिकट काट्दा नै भन्नु पर्दो रहेछ । शाकाहारी, मांसाहारी, हिन्दु, इस्लामिक कसलाई कस्तो खाना खुवाउने हो सबै फाइभ स्टार होटेलबाटै व्यवस्था गरिँदो रहेछ । उक्त विमान भित्र चढ्दा नचिनेका मान्छेहरूसँग पनि नजानिँदो प्रकारले सम्बन्ध गाँस्नै पर्ने अवस्थाहरूलाई समेत नजिकैबाट नियाल्ने मौका मिल्यो । 

कम पैसा तिर्नेहरूको लागी ३ लाइनमा सिट व्यवस्थापन गरिएको थियो । छेउका लाइनमा तीन तीन जना बस्ने र बिचकोमा ४ जना बस्ने सिट व्यवस्थापन गरिएको थियो । सबै सिटको अगाडी सानो टिभी राखिएको थियो भने आफ्नो रुचि अनुसार फिल्म, हास्यव्यङ्ग्य, खेलकुद आदि हेर्न सकिन्थ्यो । पातलो व्ल्याङकेट, हेडफोन, एउटा सिरानी जस्तो पनि दिइँदो रहेछ । १३ घण्टासम्म कहिले एसिया, कहिले युरोप, कहिले जङ्गल, कहिले मरुभूमि त धेरै समुन्द्र माथिबाटै जहाज दौडी रहन्थ्यो । छेउछाउमा बसेकाहरूसँग कतिपयले इशारामै कुरा गर्दथे । कहिलेकाहीँ त एउटाले गरेको कुरा अर्कोले नबुझिने समस्या पनि त्यतिकै देख्न सकिन्थ्यो । सिटको अगाडिको स्क्रिनलाई ओल्टाइ पल्टाइ गर्दा म कहाँ पुगे भन्ने जानकारी हुन्थ्यो । जहाज भित्र एसी पनि हुने भएकोले जाडो गर्मीको आभासै भएन । जहाजको झ्यालमा पर्दाहरू पनि लाग्दा बाहिरी संसारबाट अलग भए जस्तो लाग्दथ्यो । झण्डै १३ घण्टाको यात्रा पछि क्यानडाको मोन्ट्रियल अगस्ट १ मा ओर्लियो । 

नेपाल र क्यानडाको समय १२ घण्टासम्मको फरक रहेछ । त्यसैले त्यहाँ पुग्दा पनि उज्यालै थियो । मलाई मोन्ट्रियलमा झण्डै ७ घण्टा व्यथित गर्नु थियो । दिउसोको २ बजे जहाजबाट ओर्लिएको थिएँ । सुरक्षा चेक जाँच अन्तर्राष्ट्रिय विमानस्थल पनि भएकोले होला, अत्यन्त कडाइका साथ गरिँदो रहेछ । मैले ल्याप्चे लगाउनेदेखि कहिलेसम्म बस्नु पर्ने हो सो को विवरण सबै भरेँ । धातु, बेल्ट, पर्स, मोबाइल, ल्यापटप, जुत्ता सबै स्क्रिन जाँच गर्नु पर्ने भएकोले म पनि त्यसैमा सामेल हुनै पर्यो  । 

मैले लगेज मोन्ट्रियलमा बुझ्ने गरी काठमाडौँदेखि चलान गरेको थिए । झण्डै आधा घण्टाको पर्खाइ पछि मैले लगेज फेला पारे । अन्तराष्ट्रिय विमानस्थलमा खान त पाइन्छ नै तर अन्यत्र भन्दा अलि महँगो पनि छ । मोन्ट्रियलमा नेट जोड्न सफल भए र छोरी ज्वाइँहरूसँग म्यासेन्जरमा कुरा गर्ने अवसर पनि प्राप्त भयो । साथै, एनसेलको सीम पनि राखेकोले मेरो नम्बरमा बेलाबेलामा ज्वाइँले फोन गरेर गाइड पनि गर्नु भइरहेको थियो । मोन्ट्रियलमा मैले काठमाडौँ देखि लगेको केही दालमोट भुजालाई पनि नास्ताको रूपमा लिएँ । 

बेलुका १० बजे मोन्ट्रियलबाट फ्रेडरिक्टनको लागि जहाज भित्र छिरेँ । करिब २.१५ घण्टाको हवाइ यात्रा पश्चात् मात्र विमानस्थल पुग्न सकिने रहेछ । मोन्ट्रियलबाट फ्रेडरिक्टन आन्तरिक उडान पनि भएकोले एयर क्यानडाबाट गएको थिए । म सँगै एक जना श्रीलंंकाको महिला पनि थिइन् । मोन्ट्रियलदेखि फ्रेडरिक्टन पुग्दा अलि अल्टिच्युडको समस्या हुँदो रहेछ । मेरो कान नजानिँदो प्रकारले दुख्न थालेको थियो तर सँगै बसेको महिलाले कान भित्र ठेंटी ठोक्नकै लागी दुई वटा ठेंटी दिइन्, जसले मेरो दुखाइमा कमी भएको थियो । 

रातीको १२ बजिसकेको थियो, ज्वाइँ मलाई लिन विमानस्थल पुगिसक्नु भएको थियो । लगेज प्राप्त गरिसके पछि ज्वाइँसँगै घरतिर लाग्यौँ । १५ मिनेटको ड्राइभमा घरमा पुगियो । घरमा श्रीमती ३ महिना पहिले नै गइसकेकी थिइन् । साथै छोरी नातिनी सबैले पुष्पगुच्छा सहित स्वागत गरे । म क्यानडा पुगेको उपलक्ष्यमा केक पनि काटे । मेरो लगेजमा चाबी लगाएको थिएँ । घरबाट जाँदाको कोसेली पसारी हाल्न पर्‍यो भनेर खोल्न लाग्दा त चाबी काटेर फालेर तारले बाँधेको रहेछ । तार खोलेर लगेज हेर्दा बल्ल थाहा भयो मोन्ट्रियलमा खोलेको रहेछ । त्यसमा एउटा कागज फेला पर्‍यो, जसमा लेखिएको थियो, तपाईँको लगेजमा कुनै गैह्र कानुनी बस्तु फेला परेन । काठमाडौँ देखि फ्रेडरिक्टनसम्मको मेरो यात्रा सुखद र अविस्मरणीय नै रह्यो र भन्नुपर्‍यो । यात्राकै क्रममा धेरै धेरै कुरा देख्ने र सिक्ने मौका रह्यो । फ्रेडरिक्टनको अनुभूति यसपछिको अङ्कमा…

Tags :
प्रतिक्रिया दिनुहोस