फ्रेडरिक्टनदेखि क्यूबेक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

फ्रेडरिक्टनदेखि क्यूबेक


७ फाल्गुन २०८०, सोमबार


गोविन्द राज पोखरेल

हामी श्रावण २० अर्थात् ५ अगस्ट २०२३ मा फ्रेडरिक्टनबाट क्यूबेक लाग्यौँ । क्यूबेक क्यानडाको निकै पुरानो सहर हो । त्यहाँको बस्तुकला देखी पुराना घरहरू पनि संरक्षण गरिँदो रहेछ । क्युबेकलाई क्यानडाको महत्त्वपूर्ण शहरको रूपमा पनि हेर्दा रहेछन् । हामी फ्रेडरिक्टनबाट हिँडे पछि क्युबेक शहरै त पुग्न सकिएन तर क्युबेकको रिभिइरे डे लुप भन्ने स्थानमा पुग्यौ । यो फ्रेन्च उच्चारणमा रहेछ । यो सहर सेन्ट लरेन्स नदी छेउमा छ । २०२१ को जनगणना अनुसार रिभिइरे डे लुप शहरको जनसंख्या २०११८ रहेछ । बाटोमा हिडदै जाँदा एउटा ग्यास स्टेसन अगाडि पुगियो । उक्त ग्यास स्टेसन अगाडि बडेमानको जनावरको मूर्ति देखियो, जसलाई मोस भन्दा रहेछन् । यो जनावर क्यानडाको जङ्गलमा प्रशस्त मात्रामा पाइने रहेछ । यो जनावर हरिण जातको वर्गमा पर्दो रहेछ । यो झण्डै २ मिटरसम्म अग्लो र एक फिटसम्मका कान हुँदा रहेछन् । 

लाइसेन्स प्राप्त व्यक्तिबाट यसको सिकार गर्न मिल्दो रहेछ । यो जनावर प्रत्यक्ष रूपमा त यहाँ देख्न सकिएन तर यसको स्वरूप देख्दा हामीलाई अचम्म लाग्यो । हामी त्यस दिन रिभिइरे डे लुप भन्ने नदी किनारको होटेलमै बुक गरी सकेका थियौँ । सेन्ट  लरेन्स नदी छेउमा रहेको उक्त होटेल सस्तो र सुलभ पनि रहेछ । हामीलाई सबै ठाउँमा घुमाउने पनि छोरी र स्पेसल गाइडर ज्वाइँ हुनुहुन्थ्यो । चालकको काम पनि उहाँ नै हो । २ वर्ष पनि नपुगेकी नातिनी कार सिटमा बसेर सँगै यात्रा गरिरहेकी थिइन् । हामी सबैको ध्यान उनीप्रति रहने नै भयो । हामीले त्यस दिनको खाना खाजा पनि घरैबाट लिएर गएका थियौँ तर पनि ठाउँ ठाउँमा पाइने विशिष्ट खानाको परिकार ज्वाइँले ल्याउन भ्याइ हाल्नुहुन्थ्यो । 

हामी जुन नदी छेउमा बस्यौ उक्त नदी उत्तर अमेरिकाको न्युयोर्क हुँदै बग्दो रहेछ । सेन्ट लरेन्स नदी उत्तर अमेरिकाकै ठुलो नदी पनि हो । यो नदी ११९७ कि.मि लामो रहेछ । क्यानडाको मन्ट्रियल र क्यूबेक भएर बग्दो रहेछ । ओन्टारियो ताल यसैबाट उत्पत्ति हुन पुग्दो रहेछ । समुन्द्र जस्ता नदीहरूको दृश्य मनमोहक नै थियो । साथै सोही दिन हामी झरना अवलोकन पनि गर्न पुगेका थियौँ । यसरी अग्ला झरनाहरू हेर्दा नेपालका धेरै स्थानहरूलाई सम्झेको थिए । यदि हामीले पनि झरना, नदी, बाटो र सुरक्षा आदिलाई व्यवस्थित गर्न सके आन्तरिक र बाह्य पर्यटनको लागी कति राम्रो हुने थियो ।

६ अगस्ट २०२३ को दिन हामी क्युबेक शहरतिर लाग्यौ । मैले माथि नै भनिसके क्युबेक निकै पुरानो सहर पनि हो । यो सहर कहिले फ्रेन्च र कहिले ब्रिटिसहरूले आफ्नो कब्जामा लिएका रहेछन् । खासगरी क्युबेकमा अमेरिका र क्यानडामा बसोबास गर्नेहरू लामो बिदा मनाउन उक्त शहरमा पुग्दा रहेछन् । क्युबेकमा २०२३ को जनगणना अनुसार शहरको मात्रै ५४९४५९ जनसंख्या र महानगरको जनसंख्या भने ८३९३११ रहेछ । यो सहर क्यानडाको ११ औँ ठुलो शहरको रूपमा लिइँदो रहेछ । साथै यो प्रान्तको मन्ट्रियल भन्दा दोस्रो र महानगरमा सातौँ नम्बरमा पर्दो रहेछ । यसमा धेरै अगाडि देखि नै युरोपियनहरू बसोबास गर्दा रहेछन् । क्युबेकको पुराना घरहरूलाई अत्यन्त संरक्षण गरेर राखेको रहेछ । पुराना घरहरू भएतिर गाडी  प्रवेश निषेध रहेछ । शहरको बिच भागमा पार्कहरू पनि रहेछ । क्यानडामा पनि घरबार विहीन हुँदा रहेछन् तर तिनीहरूलाई संघीय सरकारले गाँस बास कपासको व्यवस्था त गर्दो रहेछ फेरी पनि उनीहरू त्यसरी बस्न मान्दो रहेनछन् । उनीहरूको फोटो खिच्न समेत दिइँदो रहेनछ । घरबार विहीन एउटा सामाजिक समस्याको रूपमा लिँदो रहेछ त्यसैले क्यानडाले त्यसैको समाधानकै लागी धेरै कमाउने र थोरै कमाउनेहरूको वर्गीकरण गरेको पाइयो । थोरै आयस्रोत हुनेहरूका लागी राज्यले नै सहयोग गर्दो रहेछ । प्रत्येक वर्ष त्यस्तो खर्चको लागी झण्डै ७० मिलियनसम्म सरकारले खर्च गर्दो रहेछ । यसबाट राज्यले सामाजिक समस्या समाधानको लागी बाटो खोलिदिएको पनि हुन सक्छ ।

हाम्रो घुमाई क्युवेकमा आनन्ददायी नै  बन्यो पानी जहाज कस्तो हुन्छ भनेर टिभीका स्क्रिनहरूमा देखेको हामी प्रत्यक्ष रूपमा देख्न र चढ्न पाइयो । टाइटानिक पोजमा फोटो खिच्न छोरीको आग्रहलाई हामीले पनि स्वीकार गर्‍यौँ । झण्डै तीन घण्टा पानी जहाजमा सेन्ट लरेन्स नदीमा यात्रा गर्दाको रमाइलो अविस्मरणीय नै रह्यो । 

क्यूबेक सहर नजिकै मोन्टमोरेन्सी भन्ने झरना छ । उक्त झरना अमेरिकाको नियागरा फल्स भन्दा झण्डै १०० फिट अग्लो मानिन्छ, उक्त झरना ८३ मिटर अर्थात् २७२ फिट अग्लो रहेछ । उक्त स्थानमा केवल कार, जीपलाइन पार्क पनि रहेछ । उक्त फल्स, जीपलाइन र केबलकारको रमाइलोमा हजारौँ मान्छेहरूको आवागमन भइ नै रहँदो रहेछ सो को अवलोकन पनि गर्न पाइयो । क्यूबेकमा एउटा नयाँ सिकाई पनि रह्यो । हाम्रा डाँडा थुम्काहरूलाई सिँगार्न सके त्यसको प्रतिफल लिन सकिँदो रहेछ । त्यस दिन बेलुकाको खाना इण्डियन खाना पाइने होटलमा सम्पर्क गर्‍यौँ । ९ बजे समय  दियो । हामी समय मुताबिक पुग्यौ । होटलमा सोझै कुर्सीमा बस्न पाइँदो रहेनछ । 

ढोकामा गएर उभिएपछि एकछिन पछि वेटर आएर उसले भनेको स्थानमा बस्नु पर्दो रहेछ । जे होस इण्डियन खाना त गइयो तर खानाको स्वाद त्यति थिएन । तरकारीमा नुन नभएर गुलियो, खै कस्तो भन्ने तर पनि जे खानुथ्यो खाइयो । अर्को दिन जेष्ठ नागरिकहरूले चलाएको खाजा घरमा गयौँ । त्याहा पनि त्यसरी नै लाइनमा बसेर उनीहरूले बस्न भनेको स्थानमा गएर बस्यौ । होटलहरुमा आफूले अर्डर गरे पछि पहिले पैसा तिर्नु पर्ने र  पछि मात्र खान पाइँदो रहेछ । क्यानडामा हामी घुमेका शहरहरुमा फ्रेन्च र अंग्रेजी दुवै भाषा बोल्दा रहेछन् । बसमा होस कि रेलमा , पेलेन होस वा पानी जहाज सबैमा जानकारी गराउँदा दुई भाषामा गर्दा रहेछन् । यसरी हेर्दा क्यानडा कहिले फ्रान्सको कहिले ब्रिटिसको उपनिवेशमा रहेको रहेछ भन्ने जानकारी हुन आयो ।

पर्यटनको हिसाबले क्यूबेक राम्रै मानिँदो रहेछ । हामीले पनि नेपालमा पर्यटकसँग गर्ने व्यवहार युरोप अमेरिकामा गर्ने व्यवहारहरू सिक्न जरुरी देखियो । सिङ्गो देशलाई नै पर्यटकीय संग्रहलयकै रूपमा विकास गरे नेपाल जस्तो देशले आर्थिक रूपमा केही काँचुली फेर्ने थियो । तर त्यसको विकासको लागी राजनैतिक व्यवस्थामा स्थायीत्व हुन जरुरी छ भने अर्कोतर्फ कामको सम्मान गर्ने परिपाटी नभएको कारणले पनि हामी पछाडि परेका हौँ की त्यसमा सोच्न पर्ने हो कि भन्ने लाग्यो । 

क्रमशः

काठमाडौँदेखि फ्रेडरिक्टनसम्म  

फ्रेडरिक्टन सहर र सेन्ट जोन नदी  

Tags :
प्रतिक्रिया दिनुहोस