बन्द रहेको विराटनगर जुट मिल्समा आगलागी, करिब २० लाख रुपैयाँ बराबरको क्षति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बन्द रहेको विराटनगर जुट मिल्समा आगलागी, करिब २० लाख रुपैयाँ बराबरको क्षति


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योगमा मंगलबार राति आगलागी भएको हो । आगलागीबाट २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो । ‘आगो सुरु भएको स्थानमा विद्युत् सर्ट हुनसक्ने सम्भावना नभएका कारण कसैले आगो लगाएको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, ‘घटना शङ्कास्पद भएकाले दायरा फराकिलो बनाएर अनुसन्धान सुरु गरिएको छ ।’

बन्द अवस्थाको जुट मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको थियो । जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ । मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ ।

विक्रम संवत् १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो । विराटनगर जुट मिल्स २०७८ साल माघदेखि बन्द छ । पछिल्लो समय सरकारले बन्द रहेका उद्योग सुरु गर्न चासो देखाएपछि भारतीय व्यापारिक समूह बिड्ला ग्रुपले मिलको वस्तुस्थिति अवलोकन गरेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा बुधबार राति १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस