प्राथमिक तहमा माग गरे अनुसार शिक्षक पदपूर्ति नहुने, माग भन्दा ६८३ कम परीक्षार्थी पास « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्राथमिक तहमा माग गरे अनुसार शिक्षक पदपूर्ति नहुने, माग भन्दा ६८३ कम परीक्षार्थी पास


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । शिक्षक सेवा आयोगले यसवर्ष प्राथमिक तहमा माग गरे अनुसार शिक्षक पदपूर्ति नहुने भएको छ । आयोगले २०७९ चैतमा काठमाडौँबाहेक ७६ जिल्लामा सात हजार ९५४ शिक्षक माग गरेको थियो ।

त्यस अनुसार गत २० जेठमा सामान्य र १३ असोजमा विषयगत परीक्षा सञ्चालन गरेको थियो । १३ असोजमा लिएको विषयगत परीक्षाको नतिजा सार्वजनिक गर्दा माग गरेभन्दा ६८३ जना परीक्षार्थी कम उत्तीर्ण भएका छन् ।

७६ मध्ये ४३ जिल्लामा मात्र माग गरेअनुसार परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण भएकाहरूको अन्तर्वार्ता २० फागुनदेखि जिल्ला शिक्षा समन्वय इकाइमा हुनेछ ।

कोशीमा इलाम र धनकुटामा मात्र माग संख्या अनुसार परीक्षार्थी उत्तीर्ण भएका छन् । बाँकी १२ जिल्लामा कम परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यसमध्ये सबैभन्दा बढी सोलुखुम्बुमा ७०, ओखलढुंगामा ५४, मोरङमा ३७ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।

मधेशमा सर्लाही, बारा, पर्सा र सप्तरीमा मात्र मागअनुसार शिक्षक उत्तीर्ण भएका छन् । लिखित परीक्षामा माग गरेभन्दा धनुषामा ४०, सिरहामा १५, महोत्तरीमा २५ र रौतहटको १३ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।

बागमतीका काठमाडौँबाहेकका जिल्लामा कुल एक हजार ३३२ शिक्षक माग गरेकामा १५३ जना कम परीक्षार्थीले मात्र लिखित परीक्षामा नाम निकालेका छन् ।

दोलखामा १८, नुवाकोटमा ११, काभ्रेपलाञ्चोकमा ४०, चितवनमा ३ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् । सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुरमा मात्र माग अनुसार परीक्षार्थी उत्तीर्ण भएका छन् ।

गण्डकीमा बाग्लुङ, तनहुँ, गोरखा, नवलपरासी, लमजुङ र मुस्ताङमा माग अनुसार परीक्षार्थी पास भएका छन् । कास्कीमा २५ र पर्वतमा १८ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

लुम्बिनीमा अर्घाखाँचीमा ११, पाल्पामा ४, रुकुमपूर्वमा १७ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।

कर्णालीमा सुर्खेतबाहेक अन्य जिल्लाले माग अनुसार शिक्षक पाउने देखिएको छ । सुर्खेतमा ६९ जना माग भएकामा ६३ जना उत्तीर्ण भएका छन् ।

सुदूरपश्चिमको बाजुरामा १८ र डडेलधुरामा १ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् । अरु जिल्लामा भने माग अनुसार परीक्षार्थी उत्तीर्ण भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस