ओली र दाहाललाई माधवले भने-देश विकासको खाका बनाएर अघि बढौँ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओली र दाहाललाई माधवले भने-देश विकासको खाका बनाएर अघि बढौँ


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने खाका तयार गर्नुपर्ने बताएका छन् ।

सोमबार समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपाल, मधेशले आयोजना गरेको कार्यक्रमलाई जनकपुरधाममा सम्बोधन गर्दै नेपालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग पनि देश विकासको खाका बनाउन पटक-पटक आग्रह गरेको बताएका हुन् ।

नेपालले सबै बुद्धिजीवी, अनुभव प्राप्त व्यक्तिहरूसँग बसेर देश निर्माणको खाका तयार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले देशभरका सडकहरु खाल्डाखुल्डी रहित हुनुपर्ने बताए । उनले चुरेमा बस्ती बसिरहेको, अतिक्रमण भइरहेको र सडक निर्माणले चुरे मासिँदै गएकाले सबैले ध्यान दिन जरुरी रहेको बताए ।

‘मेचीदेखि महाकालीसम्म जुन हाइवे छ, खाल्डाखुल्डीबाट मुक्त हुनुपर्छ । एयरपोर्टमा मानिस झरिसकेपछि टुरिस्ट डेस्टिनेसनमा नपुग्दासम्म कुनैपनि बाटो खाल्डाखुल्डी नहोस् । नभए र देशप्रतिको धारणा राम्रो हुँदैन । हामीले बनाएको हवाई मैदानमध्ये १५ देखि २० वटामा त प्लेन नै जाँदैन । जब तपाईँले प्रतिफल प्राप्त गर्न सक्नुहुन्न भने लगानी गर्ने प्रतिफल प्राप्त नहुने, किन लगानी गर्नु । नेपालमा कति वटा हवाई मैदान चाहिन्छ, कहाँ कहाँ चाहिन्छ रु चुरेमा बस्ती बसिरहेको छ, अतिक्रमण बढिरहेको छ । त्यही ठाउँमा हामीले बाटो बनाइरहेका छौँ । कहाँ के गर्नुपर्छ भन्ने कुराको सामग्रिक दृष्टिकोणको अभाव छ । मैले हिजो केपी ओलीजीलाई पनि भनेको थिएँ, म प्रधानमन्त्री हुँदा पनि मैले सोचेको थिएँ । ‘प्रचण्ड’जीलाई पनि पटक-पटक भन्ने गरेको छु । हामी बसौँ । अनुभव भएकाहरू बसौँ । अनुभव भएका व्यक्ति, नेता, मन्त्रीहरू । विज्ञहरू सबै बसौँ । यो देश कसरी बनाउने, कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरौँ । देश विकासको मार्गचित्र बनाऔँ हामी ।’ नेपालको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस