नभाल्नीका परिवारले अझै शव पाएनन् « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नभाल्नीका परिवारले अझै शव पाएनन्


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधी एलेक्सी नभाल्नीको शव २ सातापछि मात्रै परिवारलाई जिम्मा लगाइने जनाइएको छ । जेलमा बन्द नभाल्नीको गत साता मृत्यु भएपछि आमालाई जानकारी गराउँदै शव रासायनिक परीक्षणका लागि राखिएको बताइएको थियो ।

रुसको सबैभन्दा कठिन जेलमा मृत्यु भएका नभाल्नीको शवको नजिक पुग्न पनि परिवारलाई दिइएको छैन । नभाल्नीका श्रीमतीले पतिको शव लुकाएको बताएकी छन् । उनले आफ्ना पतिको हत्या पुटिनले गरेको र पुटिनविरुद्ध पतिले  छेडेको अभियानलाई आफूले निरन्तरता दिने पनि बताइन् ।

उता, क्रेमलिनले नभाल्नीको मृत्युको बारेमा आफूहरूले अध्ययन गरिरहेको र अझैसम्म कुनै नतिजा नआएको जवाफ दिएको छ । अनुसन्धानपछि मात्रै हस्तान्तरण गर्ने पनि बताएको छ ।

नभाल्नीको मृत्यु पछि पुटिनमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय फोरमहरूमा नभाल्नीको मृत्युको जाँच हुनुपर्ने आवाज उठेको हो । यसैगरी अमेरिका र युरोपियन युनियनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा पनि छलफल गरिरहेको बीबीसीले जनाएको छ ।

तर, रुसका प्रवक्ता दिमित्री पेस्कोभले नभाल्नीको मृत्युका सम्बन्धमा पश्चिमीहरूको टिप्पणी ‘अंहकार’ र अस्वीकार्य भनेर टिप्पणी गरेका थिए । रुसले नभाल्नीको ‘सडन डेथ सिन्ड्रोम’ ले ज्यान गएको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस