सर्वोच्च अदालत स्थापना हनुअघिको प्रधान न्यायालयका फैसला वेबसाइटमा हेर्न सकिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सर्वोच्च अदालत स्थापना हनुअघिको प्रधान न्यायालयका फैसला वेबसाइटमा हेर्न सकिने


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सर्वोच्च अदालत स्थापना हुनुअघि अस्तित्वमा रहेको प्रधान न्यायालयले गरेका फैसलाहरूको डिजिटल अभिलेखीकरण भएको छ । सर्वोच्च अदालतले आम मान्छेले बुझ्ने भाषामा ती फैसलाहरू आफ्नो वेबसाइटमा राखेको छ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार एक कार्यक्रमबीच प्रधान न्यायालयले गरेका फैसलाहरूको डिजिटल अभिलेखीकरण सार्वजनिक गरेका छन् ।

सम्पादन तथा प्रकाशन समितिका अध्यक्ष न्यायाधीश हरिप्रसाद फुयाँलको नेतृत्वमा लामो समय लगाएर सर्वोच्च अदालतले न्यायिक इतिहासको डिजिटल दस्तावेज बनाउने काम गरेको थियो । वि.सं १९९७ साउन १ गते प्रधान न्यायालयको स्थापना भइ कार्य सञ्चालन भएको इतिहास छ । त्यतिबेला पहिलो प्रधान न्यायाधीशका रूपमा जनरल बहादुर शमशेर जबराले काम गरेका थिए ।

प्रजातन्त्र स्थापना हुनुअघि वसन्त शमशेर जबरा पनि उक्त जिम्मेवारीमा थिए । प्रजातन्त्र स्थापना भएपछि २००८ साल साउन ७ गते हरिप्रसाद प्रधान पहिलो प्रधान न्यायाधीश नियुक्त भएका थिए । २००९ साल वैशाख २६ गते प्रधान न्यायालय ऐन जारी भई लालमोहर लागेको र २००९ साल पुस ८ गते राजपत्रमा प्रकाशित भएको थियो । सर्वोच्च अदालतले वैशाख २६ गतेलाई कानुन दिवसका रूपमा मनाउने गरेको छ ।

न्यायाधीश फुयाँलले प्रधान न्यायालयले २००९ सालदेखि गरेका फैसलाहरू भेटिएको र त्यसलाई राखिएको जानकारी दिए । प्रधान न्यायालयले करिब ५ हजार फैसला गरेको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चको यो काममा इतिहासविद् प्राध्यापक दिनेशराज पन्तलगायतको विज्ञ टोलीले सहयोग गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस