चामल र चिउराको तौल कम गरी बेच्ने केएल दुगडलाई कारबाही हुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चामल र चिउराको तौल कम गरी बेच्ने केएल दुगडलाई कारबाही हुने


७ फाल्गुन २०८०, सोमबार


बाँके । बाँकेको गनापुरमा रहेको केएल दुगड समूहले चामल र चिउरामा तौल कम गरी ठगी गरेको पाइएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गरेको अनुगमनमा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि जरिवाना र आवश्यक कारबाही गरिने भएको हो ।

केएल दुगडले उत्पादन गरेको २० किलोको चिउरा र ५० किलोको अरुवा मोटा चामलको बोरामा ५० ग्रामदेखि २०० ग्रामसम्म घटाएर बेचेको गुनासो आएपछि समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री अब्दुल खानले अनुगमन गरेका थिए । अनुगमन पछि सोमबार पत्रकारहरूसँग कुरा गर्दै सभापति खानले उपभोक्तालाई ठगेको भेटिएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गरिने बताए ।

केएल दुगडका केही कर्मचारीहरूले अनुगमनमा अवरोध गरेका थिए । अवरोध पछि प्रहरीको सहयोगमा खानले उद्योग भित्र अनुगमन गर्दा ठगी गरेको पाइएको थियो । केएल दुगडका प्राविधिक म्यानेजर प्रेम कुमार शर्माले केही खाद्यान्नमा तौल कम भएको स्वीकारदै उक्त गल्तीलाई सुधार गर्ने प्रतिबद्धता जनाए ।

खानले आइतबार केएल दुगड, पानस कम्पनी र अम्बे स्टिलको समेत अनुगमन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस